काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा बैंक तथा वित्तीय संस्थामा ठूलो क्षति पुगेको छ। सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकलाई मात्र साढे ३८ करोड रुपैयाँ बराबरको सुन र नगद लुटिएको बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृतले बताएका छन् । उनका अनुसार नयाँ बानेश्वर शाखाबाट १७ हजार ९४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद चोरी भएको हो। सो सुन धितोमा राखिएका गरगहना भएको उनले स्पष्ट पारे। ‘प्रदर्शनकारीले बानेश्वर शाखामा लुटपाट गरे पनि ढुकुटीमा भएको सबै नगद र सुन सुरक्षित छ,’ उनले भने। बुधबार कायम गरिएको सुनको मूल्यका आधारमा बैंकलाई भएको क्षति ३८ करोड ४० लाख रुपैयाँ पुगेको छ। जसमध्ये ३३ करोड २४ लाख रुपैयाँभन्दा बढीको सुन मात्रै लुटिएको देखिन्छ। भैरहवा भन्सार कार्यालयस्थित शाखाबाट समेत नगद चोरी भएको र १ लाख २८ हजार रुपैयाँ जलेको अवस्थामा भेटिएको रेग्मीले बताए। प्रदर्शनका क्रममा बैंकको कम्प्युटर, क्यामेरा, फर्निचर, प्रिन्टर तथा कागजपत्र जलेर वा क्षतिग्रस्त भए पनि कर्जाका तमसुक भने सुरक्षित रहेको उनले जानकारी दिए। नेपाल बैंकर्स संघका अनुसार देशभरि बैंकका ६१ वटा शाखा तथा कार्यालयमा तोडफोड र क्षति पुगेको छ। कतिपय स्थानमा एटीएम मेसिन तोडिएका छन् भने सरकारी कार्यालय नजिक रहेका शाखामा बढी क्षति पुगेको संघले जनाएको छ। २४ भदौको प्रदर्शनमा सिंहदरबारसहित धेरै सरकारी कार्यालय, उद्योग र व्यवसायमा समेत तोडफोड र आगजनी भएको छ।