काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल अध्यक्ष करण चौधरीले लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न विश्वस्त हुन सक्ने अवस्था नरहेको बताएका छन् ।
मंगलबार अर्थमन्त्री रामेश्वर खनालसँगको भेटमा उनले व्यावसायिक प्रतिष्ठानहरुमाथि हुने आगजानी, तोडफोडलगायतका घटनाले लगानीकर्तालाई विश्वासमा ल्याउन मुस्किल हुने बताएका हुन् । व्यवसायीहरुको सुरक्षा र देशको शान्ति र अमन चयन सबैभन्दा महत्वपूर्ण विषय भएको उनले बताए । व्यवसायीहरुको उत्थानका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा उनले जोड दिए ।
छलफलमा उनले देशको अर्थतन्त्र खस्किँदै गएकाले सरकारले व्यवसायीहरुको मनोबल बढाउने खालका नीतिहरु ल्याउनुपर्ने बताए । उनले हालै जेन–जी नामक आन्दोलनका क्रममा भएको आगजानी तथा तोडफोडबाट भएको हानी नोक्सानीको इन्स्यारेन्स डिस्बर्समेन्ट हुनुपर्ने माग राखे ।
अध्यक्ष चौधरीले नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ को कार्यान्वयनबाट सवारी साधनहरुको मूल्य बढ्ने बताए । सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै उनले नाडाको तर्फबाट २२ बुँदे सुझावहरु समेत पेस गरेका थिए । उक्त छलफलमा खासगरी पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैंकहरुबाट हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोमा हाल ६० प्रतिशतको सीमालाई बढाएर ८० प्रतिशत पुर्याउनुपर्ने सुझाव दिइएको थियो ।
छलफलमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सडक बिगे्रको कारण तातोपानी भन्सारबाट सवारी साधनहरु नेपालमा आउन नसकेको सम्बन्धमा छिट्टै सवारी साधन सञ्चालन गरिने आश्वासन दिएका थिए । साथै, उनले व्यवसायीहरुका लागि प्रोत्साहन प्याकेज समेत ल्याइने बताए । त्यसैगरी, नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ को कार्यान्वयनबाट परेको असरहरुका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गरिने बताएका थिए ।
अर्थमन्त्री खनालले व्यवसायीहरुले राखेका सुझावहरुलाई मनन् गर्दै आन्दोलनबाट भएको नोक्सान र क्षतिको तथ्याड्ढ संकलन गरी समुचित कदम चालिने बताए । सोही क्रममा मन्त्री खनालले बैंक र फाइनान्सबाट प्रदान गर्न सकिने सुविधाहरु प्रदान गरिने जानकारी दिए । त्यसका लागि सरकारले आवश्यक कदम चाल्ने उनले आश्वासन दिएका छन् । मन्त्री खनालले आन्दोलनले अटोमोबाइल क्षेत्रमा ठूलो नोक्सानी पुर्याएको उल्लेख गर्दै छ आफू व्यवसायीहरुको सिधा सम्पर्क रहने बताए । उक्त छलफलमा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल केन्द्रीय कार्य समिति सदस्यद्वय आकाश गोल्छा, प्रकाश कपुरी, मेघराज पौडेल, यमुना श्रेष्ठ र अभिक ज्योति समेतकोे उपस्थिति रहेको थियो ।