काठमाडौं । राष्ट्रिय मानव अधिकारले नेपाली सेनाले संरक्षणमा राखेका नेताहरूको अवस्थाबारे जानकारी लिएको छ । आयोगका पदाधिकारीे र प्रधानसेनापति अशोकराज सिग्देलबीच मंगलबार भएको भेटमा उनीहरुको बारेमा जानकारी लिइएको आयोगले जनाएको छ ।
आयोगले एक विज्ञप्ति जारी गरी नेपाली सेनाको संरक्षणमा रहेकाहरूसँग सम्पर्कमा रही उनीहरूको सुरक्षा र स्वास्थ्य अवस्थाको सम्बन्धमा जानकारी लिइरहेको जानकारी गराएको छ । साथै, आयोगले ‘जेन–जी’ प्रतिनिधि, मृतकका परिवार, घटनाका घाइते र अन्य प्रभावित तथा बालबालिकासँग निरन्तर भेटघाट गरिरहेको जनाएको छ । ‘जेन–जी’ आन्दोलनपछि उत्पन्न परिस्थितिपछिको शान्ति सुव्यवस्था र मानव अधिकारको अवस्थाबारे आयोगको कार्यालय हरिहर भवन ललितपुरमा छलफल भएको हो । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आयोगका पदाधिकारी र प्रधान सेनापतिबीचको भेटघाट बदलिँदो परिस्थितिमा देशको शान्ति सुरक्षा र नेपाली सेनाको संरक्षणमा रहेकाहरूको अवस्थाबारे छलफल भएको बताए । छलफलमा देशको शान्ति सुरक्षा, मानव अधिकारको संरक्षण र आगामी सुरक्षा चुनौतीको आकलन गर्दै लोकतन्त्र, मानव अधिकार र विधिको शासनको परिधिभित्र रहेर कार्य गर्न नेपाली सेनालाई आयोगले सुझाव दिएको उनले जानकारी दिए ।