काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरिरहेको हकप्रद सेयरमा आवेदन दिने अवधि पुनः थप भएको छ । कम्पनीले प्रारम्भिक रूपमा आवेदन दिन भदौ २३ गते अन्तिम मिति तोकेकोमा पर्याप्त आवेदन नआएपछि म्याद बढाउँदै भदौ ३१ गतेसम्म पुर्याइएको थियो । हालै देशभर देखिएको जेन–जी आन्दोलनका कारण कारोबारमा परेको असरलाई मध्यनजर गर्दै कम्पनीले पुनः असोज ६ गतेसम्म म्याद थप्ने निर्णय गरेको हो ।
खानीखोला हाइड्रोले हाल कायम चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार तीन सय रुपैयाँबराबरको शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछ । सोअनुसार ४६ लाख ५७ हजार एक सय ४३ कित्ता सेयर प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा जारी भइरहेको छ । यस प्रयोजनका लागि कम्पनीले असार २७ गते बुक क्लोज गरेको थियो । त्यसअघि असार २६ गतेसम्म कायम भइसकेका सेयरधनीहरूले मात्र जारी भएको हकप्रदमा आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।