म्याग्दी । रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माण भएको ४८ दशमलव पाँच मेगावाट क्षमताको ‘अपर’ राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ ।
तुँदी पावर प्रवद्र्धक रहेको आयोजनाको बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, स्वीचयार्ड निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकिएपछि आजदेखि परीक्षण उत्पादन थालिएको हो । आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीको उपस्थितिमा परीक्षण थालिएको जानकारी दिए । उनका अनुसार निर्माण भएका भौतिक संरचना र जडान गरिएका उपकरणको आन्तरिक परीक्षण सफल भएपछि विद्युत् उत्पादन थालिएको हो । परीक्षणका क्रममा कुनै समस्या नदेखिएकाले १५ दिनपछि व्यावसायिक उत्पादन सुरु गर्ने तयारीमा रहेको उनले जानकारी दिए ।
रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नं ४ दग्नामको फेदीमा विद्युत्गृह रहेको यस आयोजनाको सुरुङ चार हजार नौ सय मिटर लामो छ । ‘आउटलेट’देखि विद्युत्गृहसम्म छ सय ८० मिटर लामो ‘पेनस्टक पाइपलाइन’ जडान गरिएको छ । अपर राहुघाटको इलेक्ट्रोमेकानिकल ठेकेदार एभरेस्ट हाइड्रो हो भने हाइड्रोमेकानिकल ठेकेदार माछापुच्छ्रे« मेटल एन्ड मेसिनरी हो । विसं २०७७ देखि निर्माण सुरु भएको यस आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा कन्ट्रक्सन हो । साउथ एसियन इन्फास्ट्रक्चरले यसको सुरुङ बनाएको हो । तुँदी पावरले निर्माण गरेको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले जलविद्युत् आयोजनाले गत असारदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले यही भदौ महिनादेखि व्यावसायिक उत्पादन थालेको थियो ।
चिमखोला–मङ्गले–राहुघाटको विद्युत्गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी प्रयोग गरेर अपर राहुघाटबाट विद्युत् उत्पादन गरिएको हो । दुईवटै आयोजनाको अनुमानित लागत १३ अर्ब रुपैयाँ रहेको छ । यी आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डबाट अस्थायीरूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ । बन्दीदेखि चिमखोलास्थित चिमखोला–राहुघाट–मङ्गलेको विद्युत्गृहसम्म आठ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन ठूलोखोला र २२ दशमलव पाँच मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले साझेदारी गरेर बनाएका छन् । चिमखोलादेखि तिल्केनीसम्म २२० केभी क्षमताको प्रसारण लाइन ठूलोखोला, माथिल्लो ठूलोखोला, चिमखोला–राहुघाट–मङ्गले र अपर राहुघाट जलविद्युत् आयोजनाले बनाएका हुन् ।