कोलम्बो । सेवा र निर्माण क्षेत्रले भर्तीलाई निरन्तरता दिँदा अगस्ट महिनामा श्रीलंकामा रोजगारी वृद्धि भएको छ । यो तथ्यांक श्रीलंका सेन्ट्रल बैंकले संकलन गरेको पछिल्लो खरिद प्रबन्धक सूचकांक (पिएमआई) मा सार्वजनिक गरिएको हो ।
एएफपीका अनुसार सेवा क्षेत्रको पीएमआई अगस्टमा ६८.९ मा पुगेको छ । यसले सेवा गतिविधिमा बलियो विस्तार भएको संकेत गर्दछ । यस विस्तारलाई उच्च संख्यामा बढेका पर्यटक आगमनसँग जोडिएको थोक तथा खुद्रा व्यापार, व्यक्तिगत सेवाहरू, आवास, खाना र पेय सेवाहरूको उत्कृष्ट प्रदर्शनले टेवा दिएको हो । साथै, ऋण दिने गतिविधि बढेकाले वित्तीय सेवासम्बन्धी व्यवसायिक क्रियाकलाप पनि सुधारिएको देखिन्छ ।
उत्पादन क्षेत्रको पिएमआई भने अगस्टमा ५५.२ मा पुगेको छ । यसले अघिल्लो महिनाभन्दा केही सुस्त दरमा भए पनि उत्पादन गतिविधि विस्तार भएको जनाउँछ । नयाँ अर्डर र उत्पादन मुख्यतया खाद्य तथा पेय पदार्थ निर्माण क्षेत्रको बलियो प्रदर्शनकै कारण बढेको हो । खरिदको स्टक पनि नयाँ अर्डर र उत्पादनसँगै विस्तार भएको तथ्यांकले देखाएको छ ।
पिएमआईले आगामी तीन महिनामा उत्पादन गतिविधि सकारात्मक रहने अपेक्षा जनाएको छ । यो विशेषगरी वर्षको अन्त्यतिर हुने मौसमी मागका कारण थप सुदृढ हुने अनुमान गरिएको छ ।