कीर्तिपुर (काठमाडौँ) । जेनजी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भइ कीर्तिपुर अस्पतालको सघन उपचार केन्द्र (आइसियु)मा झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
जलनविज्ञ डा. कीरण नकर्मीका अनुसार आज देब्रे हातको शल्यक्रिया गरिने र अवस्था हेरेर त्यसपछिका उपचार प्रक्रिया अघि बढाइने छ । उनले अस्पतालमा ल्याउँदाको अवस्थाभन्दा सुध्रिएको घाइते चित्रकारको उपचारका क्रममा नेतृत्व गरिरहेका जलनविज्ञ डा. कीरण नकर्मीले बताएका छन् ।
यसैबीच नेता खनालका अनुसार पत्नी चित्रकारको फोक्सो र देब्रे हातमा ध्यान केन्द्रित गर्दै चिकित्सकहरूले उपचार गरिरहेका छन भने आगलागीका क्रममा फोक्सोमा हानिकारक ग्यास पास भई समस्या देखिएको र देब्रेहातमा गम्भीर जलन भएको चिकित्सकले जानकारी गराएका छन् ।
लामो समय प्राध्यापन पेसामा बिताएकी आफ्नी पत्नीलाई योजनाबद्ध ढङ्गले आगलागीमा पारिएको र स्वदेशी तथा विदेशी केही सञ्चारमाध्यमबाट त्रुटिवस गलत समाचार सम्प्रेषण भएकामा दुःख व्यक्त गर्दै नेता खनालले भने, “यस किसिमका आपराधिक एवं अमानवीय घटनाको निन्दा र भत्र्सना गर्दछु । उक्त घटनामा संलग्न पक्षलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दछु ।”
आफ्नो घरमा आगो लगाउने, लुटपाट गर्ने र तोडफोड गर्नेहरुको प्रमाण फेला पर्न थालेको जानकारी दिँदै नेता खनालले प्राप्त ती प्रमाणहरु छिट्टै सार्वजनिक गरिने बताए ।