धनगढी । धनगढीमा चाडपर्व लक्षित सुपथ मूल्यको सहुलियत पसल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले सञ्चालनमा ल्याएको छ ।
सो कार्यालयले उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्यको सहुलियत पसल सञ्चालनमा ल्याएको हो । उपभोक्तालाई विभिन्न प्रकारको चामल र चिनी सुपथ मूल्यको सहुलियत पसलबाट प्रति केजी पाँच रुपियाँ छुटमा बिक्री गर्ने कार्य भइरहेको प्रमुख दीपक थापाले बताए ।
उनका अनुसार २५ केजीको अरुवा मोटा चामल प्रतिबोरा एक हजार ४२५ र जिरा मसिनो चामल प्रतिबोरा दुई हजार ७५ रुपियाँमा उपभोेक्ताले खरिद गर्न पाउने जनाइएको छ । प्रतिकेजी ६२ रुपियाँ पर्ने अरुवा मोटा चामल ५७ र प्रति केजी ८८ रुपियाँ पर्ने जिरा मसिनो चामल ८३ रुपियाँमा बिक्री भइरहेको उनले बताए ।
थापाले चाडपर्व लक्षित सुपथ मूल्यको पसल कैलालीसहित सुदूरपश्चिम प्रदेशको २८ ठाउँमा सञ्चालन गरेको जानकारी दिए । यसैगरी, प्रतिकेजी १०० रुपियाँ पर्ने चिनी पाँच रुपियाँ छुट दिएर उपभोक्तालाई बिक्री गरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।