काठमाडौं । जेन–जी आन्दोलनको क्रममा भएको आगजनीमा राष्ट्रिय वाणिज्य बैंकबाट ३८ करोड रुपैयाँसम्म लुटपाट भएको देखिएको छ । यही भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट मात्रै ३८ करोड रुपैयाँ हाराहारीमा लुटपाट भएको नेपाल राष्ट्र बैंकका गर्भनर डा. बिश्वनाथ पौडेलले बताएका हुन् ।
एक पडकास्टमा अन्तर्वार्ता दिने क्रममा गभर्नर पौडेलले यसको खुलासा गरेका हुन् । उनका अनुसार सुन र नगद गरेर कुल ३७ देखि ३८ करोडसम्मको लुटपाट भएको छ । उक्त शाखाबाट मात्र पाँच करोड रुपैयाँ नगद र १८ किलो सुन चोरिएको गभर्नर पौडेलको भनाइ छ । प्रदर्शनका क्रममा राष्ट्र बैंकमा क्षति नभए पनि बैंकका शाखाहरुमा भने गम्भीर क्षति भएको देखिएको हो ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर एसोसिएसनले भने जेन–जीको आन्दोनको क्रममा वाणिज्य बैंकहरुको ६५ वटा शाखा तथा एक्सटेन्सन काउन्टरमा आगजनी तथा तोडफोड भएको जानकारी दिएको छ । संघले संकलन गरेको पछिल्लो तथ्यांकअनुसार, सरकारी कार्यालयहरुमा रहेका अधिकांश एक्सटेन्सन काउन्टरहरुमा आगजनी तथा तोडफोड भएको छ ।
संघका अनुसार क्षति पुगेका कुल ६५ मध्ये ४० वटा एक्सटेन्सन र बाँकी २५ वटा शाखा कार्यालयहरु रहेका छन् । एटीएम बुथमा पनि तोडफोट तथा आगजनी भएको र धेरैजसो एटीएम भाटभटेनी सुपरमार्केटसँगै जलेको छ । भाटभटेनीमा तीन–चारवटै बैंकले एटीएम राख्ने गरेकाले ती अधिकांश एटीएम जलेको छ । पछिल्लो तथ्यांकअनुसार ४५ वटा एटीएम तोडफोड गरिएको तथा जलाइएको संघले जानकारी दिएको छ ।