दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिका–७ मार्बुमा जंगली जनावरको आतंक बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।
जंगली जनावरले स्थानीयका गोठका गाईभैसी र बाख्रा मार्न थालेपछि वडा नम्बर–७ को मार्बु, पात्ले र माजीबुस्ती गाउँका स्थानीय चिन्तित बनेका हुन् । मंगलबार राति स्थानीय तुलसी गिरीको गोठमा पसेर दुई वर्षको भैँसीको पाडी जंगली जनावरले मारेको छ । साँझमा घाँस दिएर घर गएका गिरी बिहान गोठमा जाँदा भैँसीको पाडी आधा भाग मात्रै भेटेको उनले बताए । गिरिले बाघले खाएको हुन सक्ने बताए । गिरीका अनुसार गत असारदेखि हालसम्म ७/८ वटा बाख्रा, भैँसी र गाईगोरुलाई जंगली जनावरले मारिसकेको छ । माजीबुस्ती, पात्ले र मार्बुमा एउटा गोरु, तीनवटा भैँसी तथा पाडी, चारवटा बोकाबाख्रा र गाईको बाच्छा मरेका अवस्थामा भेटिएको हो । यसअघि गत वर्ष वडाको विभिन्न गाउँमा बाख्रा/खसी, गाई/गोरु र भैँसी जंगली जनावरले मारेको उनले बताए ।
यहाँका स्थानीय मानकाजी तामाङ भन्छन्, ‘अहिलेसम्म त बाघले चौपाया मात्रै मारेको छ । तर यस्तै आतंक सधैँ रहिरहने हो भने मान्छेलाई पनि खाने देखिएको छ ।’ स्थानीयहरु एक्लैदुक्लै हिँडडुल गर्न, पानी पँधेरो, घरायसी काम दाउरा, घाँस, सोत्तरलगायतका काम गर्न समेत डराउनुपर्ने स्थिति रहेको उनले बताए । स्थानीहरुले ती जनावरहरुलाई बाघले खाएको भने पनि कुन जनावरले आक्रमण गरेको हो भन्ने खुलेको छैन ।
बालीनाली जोगाउन पनि मुस्किल
यहाँका स्थानीयहरुलाई गोठका पशु चौपायासँगै जंगली जनावरको आतंकबाट बालीनाली जोगाउन समेत मुस्किल परेको छ । स्थानीय चन्द्र बहादुर कार्कीले रातमा पशु चौपायाको र दिनमा बालीनालीको क्षति हुने गरेको बताए । उनका अनुसार खेतबारीमा लगाएको बालीनाली बाँदरले सखाप पार्ने गरेको छ ।
विशेषगरी, यहाँको ठोट्नेरी, काल्ले पात्ले, सल्लेरी, माजीबुस्ती बालचौर, ढाडास्वारा, बेत्तानेलगायत बस्तीमा बाँदर आतंक बढेपछि यहाँका स्थानीय हैरान भएका छन् । दिन पालो गरेर बाँदर रुङ्नुपर्ने बाध्यता रहेकोे कार्कीले बताए । दैनिक दुई सयको हुलमा बाँदर बारीमा पसेर मुख्य बालीनाली मास्ने गरेको उनको भनाइ छ ।
स्थानीय मसली मिजारले गाउँको तल्लो भेगमा भएको खेतमा खानेकुरा नपाएपछि माथिल्लो क्षेत्रको बारीमा आउने गरेको बताइन् । बाँदरले मकै, तरकारी, फलफूल नष्ट गर्ने हुँदा दैनिक बाँदर लखेट्न पालो लगाइएको उनले जानकारी दिइन् ।