काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस अफर सार्वजनिक गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराउने भएको हो ।
नेपाल सरकारले हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउँदै आएको छ । कम्पनीले उपलब्ध गराएको अफरअन्तर्गत ४९ रुपैयाँमा एक दिन चलाउन सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने एक सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुनेछ । यसैगरी, डाटा प्याकेजअन्तर्गत एक सय ११ रुपैयाँमा पाँच दिनसम्म चलाउन सकिने छ जीबी डाटा, एक सय ९९ रुपैयाँमा सात दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, दुई सय ९९ रुपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र तीन सय ९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।
यही अफरअन्तर्गत सात सय ८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने छ सय मिनेट अल नेट भ्वाइस सुविधा र दुई सय अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले फेस्टिभ कम्बो प्याकेज वा ३० जीबी डाटा प्याकेज लिएमा मासिकरुपमा बुझाउनुपर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा समेत उपलब्ध छ । अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म लागू हुनेछ । यो अफर स्टार१४१५स्टार११ह्याक्स डायल गरेर वा ’नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ ।