काठमाडौं । एसवाई प्यानल लिमिटेडले असोज ७ गतेदेखि साधारण सेयर (आईपीओ) बिक्रीको आह्वान गरेको छ । कम्पनीले यसअघि भदौ २९ गतेदेखि निष्काशन गर्ने भनेको साधारण सेयर देशमा उत्पन्न विषम परिस्थितिका कारण स्थगित भएको थियो । पछिल्लो समय देशको अवस्था सामान्य बन्दै गएपछि कम्पनीले सूचना जारी गर्दै असोज ७ गतेदेखि पुनः साधारण सेयर निष्काशन गर्ने तयारी गरेको हो ।
कम्पनीका अनुसार पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी कुल सात करोड ५८ लाख ७१ हजार नौ सय रुपैयाँबराबरको सात लाख ५८ हजार ७१९ कित्ता सेयर जारी गर्न लागिएको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत भदौ १७ गते एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ५२ करोड ३२ लाख ५४ हजार आठ सय बराबरको ५२ लाख ३२ हजार पाँच सय ४८ कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये जारी पुँजीको दुई प्रतिशत अर्थात् एक सय रुपैयाँ अंकित दरका दुई लाख ६१ हजार छ सय २७ सय कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणका लागि छुट्टाइएको मध्येबाट १० प्रतिशत अर्थात् चार लाख ९७ हजार ९२ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि जारी गरिनेछ । उद्योग प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन बन्द छिटोमा असोज १२ गते र ढिलोमा असोज २७ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्काशन बन्द छिटोमा असोज १ गते र ढिलोमा असोज १२ गते बैंकिङ समयपछि हुनेछ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले एसवाई प्यानलको रत्नगर चितवनको कार्यालय, प्रभु क्यापिटलको कमलादी र प्रभु क्यापिटलले निर्माण गरेको अनलाइन वेबसाइटबाट र प्रभु बैंकको सौराहा र टाँडी शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र उद्योग प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।