काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनको आडमा देशले हासिल गरेका राजनीतिक परिवर्तन र उपलब्धिहरूलाई कमजोर बनाउन खोजिएको बताएका छन्।गुरुवार गणेशमान सिंहको २८औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताले पाएको अधिकार सुरक्षित गर्दै त्यसलाई संस्थागत गर्ने जिम्मेवारी राजनीतिक दलहरूको भएको उल्लेख गरे।
सिंहले भने, “हाम्रो जिम्मेवारी प्राप्त अधिकारलाई सुरक्षित राख्दै आम नेपाली जनताको चाहनाअनुसार काम गर्नु हो। तर अहिले जेनजी आन्दोलनका नाममा विराटनगरमा कोइराला निवास, काठमाडौंमा चाक्सीबारी, कृष्णप्रसाद भट्टराईको आश्रम जलाइयो। यसले के देखाउँछ भने दलहरूले गरेको योगदानलाई मेटाउन दुष्प्रयास भइरहेको छ।”
उनले जेनजी आन्दोलनलाई जनताको चाहनाअनुसार अघि बढाउनुपर्नेमा जोड दिँदै आन्दोलनको नाममा भएको आगजनी र तोडफोडको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरे।
सिंहले गणेशमान सिंहको घरलाई ‘राजनीतिक मन्दिर’का रूपमा लिइने परम्परा रहे पनि हाल यसलाई क्षति पुर्याइएकोमा चिन्ता व्यक्त गरे। उनले २०४६ सालको परिवर्तन ल्याउनमा चाक्सीबारीले खेलेको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै त्यहाँ आगजनी हुनु दुःखद भएको बताए।
उनले जेनजी आन्दोलनले इतिहास मेटाउन खोजेको नभई आपराधिक मनसाय बोकेका व्यक्तिहरूको गतिविधि भएको आरोप लगाए। आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले परिवारजनप्रति समवेदना व्यक्त गरे।
नेता सिंहले विधिको शासनलाई अडान दिएर मात्र लोकतन्त्र बलियो हुने बताउँदै आगजनी र तोडफोडमा संलग्नलाई प्रमाणसहित कारबाही गर्नुपर्नेमा जोड दिए। साथै, नेपाली कांग्रेसले अबको परिस्थितिमा नेतृत्व लिन तयार रहेको पनि उनको भनाइ थियो।