काठमाडौं – अर्थ मन्त्रालयले निलम्बित अध्यक्ष शरद ओझालाई नेपाल बीमा प्राधिकरणमा हाजिर नगराउन निर्देशन दिएको छ। सर्वोच्च अदालतले ओझाको पक्षमा अल्पकालीन आदेश दिँदै उनको बर्खास्तीको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेपछि ओझा मंगलबार प्राधिकरणमा हाजिर भएका थिए। आदेशमा बर्खास्ती रोक्ने मात्रै उल्लेख गरिएको र हाजिर गराउने वा नगर्ने स्पष्ट नभएको बताइएको छ। तर ओझाले बुधबार प्राधिकरणमा आफ्नो हाजिरी पूरा गरेका छन्। यसबीच प्राधिकरणले अध्यक्षमा ओझाको नाम वेबसाइटमा राखेको छ र अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलको नाम हटाएको छ। मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले भने, “अर्थ मन्त्रालयलाई जानकारी गराएर मात्र हाजिर हुन सक्ने व्यवस्था छ, तर जानकारी नदिई प्राधिकरणले ओझालाई हाजिर गराएको छ।” प्राधिकरण र अर्थ मन्त्रालयबीच अध्यक्ष नियुक्ति र हाजिरीको विवाद अझै जारी छ।