काठमाडौं ।जेनजी आन्दोलनका क्रममा घरमा आगलागी हुँदा जलेकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारको देब्रे हात काटिएको छ। भदौ २४ गते आन्दोलनकारीले घरमा आगो लगाउँदा उनी गम्भीर घाइते भएकी थिइन्।
चित्रकारलाई अहिले काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। संक्रमण फैलिन थालेपछि बुधबार शल्यक्रिया गरी उनको देब्रे हात कुहिनोदेखि तल काटिएको खनालले बताएका छन् ।
“हिजो एउटा अपरेशन भयो। संक्रमण बढ्न थाल्यो भनेर चिकित्सकले अपरेशन गर्नुपर्छ भने। हामीले अनुमति दियौँ। डाक्टरले मेडमको देब्रे हात कुहिनोदेखि तल काटे। उनी पहिलोपटक अपांग भइन्,” खनालले भने।
उनका अनुसार चित्रकारमा निमोनियाको संक्रमण पनि देखिएको छ। ७० वर्षीया चित्रकारको शरीरको करिब १७ प्रतिशत भाग जलेको चिकित्सकले बताएका छन्। खनालका अनुसार उनी हाल बोल्न नसक्ने अवस्थामा रहेकी छन् ।