माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाले स्थानीयलाई वितरण गर्नुपर्ने सेयर विवाद चर्किएपछि बिहीबार दिउँसो भोटेकोशी गाउँपालिका कार्यालयमा तोडफोड भएको छ।आन्दोलनरत स्थानीयहरूले टायर बालेर आगजनी प्रयाससहित ढुंगामुढा र तोडफोड गरेका थिए। सो क्रममा गाउँपालिका कार्यालयको सोधपुछ कक्ष, सूचना पाटी, झ्यालका सिसा तथा परिसरमा राखिएका गमला फुटेका जिल्ला प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए। घटनामा एक जना सामान्य घाइते भएका छन्। तोडफोड हुँदा गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा सहितका कर्मचारी कार्यालयमै थिए। आगजनी प्रयासअघि उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो।स्थानीयहरूले लामो समयदेखि आयोजना कम्पनीसँग १० प्रतिशत सेयर रकम माग्दै आएका थिए। आयोजनाले वार्षिक करिब १२ करोड रुपैयाँ पालिकामार्फत वितरण गर्दै आएको भए पनि प्रत्यक्ष सेयर वितरण नभएको भन्दै असन्तुष्टि बढ्दै गएको थियो। यही विषयलाई लिएर जेनजी आन्दोलनको क्रममा स्थानीयहरूले १० दिनदेखि पावर हाउस बन्द गरेर विद्युत उत्पादन रोक्का गरेका थिए। अन्ततः बिहीबार नै पालिका अध्यक्ष शेर्पा र स्थानीय प्रशासनको उपस्थितिमा भएको वार्ताले विवाद समाधान भएको छ। वार्तामा आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर रकम दिने सहमति भएको जिल्ला प्रहरी प्रमुख कार्कीले बताए। ४६ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाबाट करिब दुई दशकअघि विद्युत उत्पादन सुरु भए पनि सेयर वितरणका विषयमा पटक–पटक विवाद भइरहँदै आएको छ।