काठमाडौं । भदौ २३ र २४ को जेन–जी प्रदर्शनका कारण वैदेशिक रोजगार विभागको कार्यालय सम्पूर्णरुपमा क्षति भए पनि कर्मचारीहरुले निरन्तर काम गरिरहेका छन् । विभागले श्रम स्वीकृति, श्रम समझदारी, वैदेशिक रोजगार व्यवसाय सञ्चालनको इजाजत पत्र प्रदान, नवीकरण, अनुगमन तथा निरीक्षण, उजुरी लिने र ठगी नियन्त्रणलगायतका कामलाई प्राथमिकता दिएर काम गरिरहेको हो ।
आगलागीबाट जोगिएका सामग्रीहरुको व्यवस्थापन गरी कर्मचारीहरुले नियमित काम गर्न थालेको विभागले जनाएको छ । आइतबार सरसफाइ र सामान व्यवस्थापन गरेपछि सोमबारदेखि आवश्यक सेवा दिन थालेको विभागका सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए ।
उनका अनुसार सूचना प्रविधि शाखाबाट हुने काम पनि निरन्तर भइरहेको छ । सोही क्रममा पछिल्लो समय इजरायलका दीर्घकालीन स्याहार केन्द्रको लागि करार सम्झौता गरेका नेपाली सहायक कामदारहरुमध्ये इजरायल दूतावास, कन्सुलर विभागबाट भिसा जारी भएकालाई सम्पर्क गर्न आग्रह गरेको छ । त्यसका साथै श्रम स्वीकृति निरन्तर प्रदान गरिएको बताइएको छ ।
त्यस्तै, कर्मचारीहरुले आफ्नो नियमित काम थाले पनि सामान्य परिस्थितिमा जस्तो शतप्रतिशत काम भने हुन सकेको छैन । आगलागीबाट लेखा, निर्देशक तथा महानिर्देशकको कार्यकक्ष, सहायता कक्ष, अनुगमनजस्ता शाखाहरु पूर्णरुपमा जलेको कारण कामहरु केही मात्रामा प्रभावित भएको छ । राहत तथा उद्धार शाखामा तोडफोड र आगजनी भए पनि पूर्ण क्षति भएको छैन ।
संस्था शाखा, सर्भर र प्रहरी शाखा पनि क्षति भएको छैन, जसले गर्दा ती शाखाको कामहरु नियमितरुपमा भइरहेको छ । विभिन्न शाखामा क्षति नपुग्दा सो शाखामा भएका टेबल, कागजात र फाइलमार्फत् कामहरु अघि बढाइएको छ । मुद्दा, राहत, उद्धार र श्रम स्वीकृतिका फाइलहरु भने सुरक्षित भएको हुँदा जहाँबाट काम छोडेका छौँ, त्यहीँबाट काम अघि बढाएका छौँ भने क्षति पुगेको शाखाहरुको काम पनि पुनः सुरुवाती चरणदेखि गर्नुपर्ने रहेको विभागका अधिकारीहरुले बताएका छन् । कर्मचारीहरुका ल्यापटप, कम्प्युटर केही थान जलेको र केही थान सुरक्षित रहेको छन् ।
सूचना अधिकारी ढकालका अनुुसार म्यानपावर व्यवसायीले राखेको धरौटीको हिसाबकिताब राख्ने खाता जल्दा भने समस्या भएको छ । लेखाका अडिट हुन बाँकी रहेका कागजातहरु, बिल भर्पाइ, भौचरलगायत कागजात पनि आगलागीबाट क्षति पुगेको छ । विभागको क्षतिको बारेमा भने श्रम मन्त्रालयले जानकारी गराइसकिएको छ ।
विभागले वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई भने श्रम स्वीकृति प्रदान गरिरहेको छ । मासिक रुपमा ५० देखि ६० हजार र वार्षिकरुपमा सातदेखि आठ लाख बढी श्रम स्वीकृति प्रदान गर्ने विभागले उक्त कामलाई भने निरन्तरता दिएको हो । गत आर्थिक वर्षमा मात्र सात लाख ४४ हजार आठ सय ११ पुरुष र ९४ हजार चार सय ५५ महिला गरी कुल आठ लाख ३९ हजार दुई सय ६६ जनालाई श्रम स्वीकृति प्रदान गरिएको थियो ।
मलेसिया र खाडीका मुलुकहरूका अतिरिक्त माल्टा, सिंगापुर, दक्षिण कोरिया, जापान, इजरायल र बेलायतलगायतका मुलुकहरू जानका लागि समेत श्रम स्वीकृति लिएका छन् । नेपाली श्रमबजारमा हरेक आर्थिक वर्ष लाखको संख्यामा युवाहरू प्रवेश गर्ने हुँदा सीमित आन्तरिक श्रम बजारमा उनीहरूले रोजगारी पाउन सक्दैनन् , जसले गर्दा विकल्पको रूपमा वैदेशिक रोजगारी नै रोज्नुपर्ने बाध्यात्मक अवस्था रहेको विज्ञहरु बताउँछन् ।