जेन–जी आन्दोलनको आह्वानकर्ताले आगजनी, तोडफोड र हाम्रो काम होइन भनिरहेका छन् । उनीहरूकै भनाइमा अहिलेको प्रणालीको पनि विरोध होइन । बरु उनीहरूले वार्तामा बस्दा आफूहरूले राष्ट्रपति यो ठाउँमा चाहियो भनिरहेका छौँ भनेर जानकारी पनि गराएका हुन् । तर यता नेपाली जनतालाई रैतीबाट नागरिक बनाउने वीर गणेशमानदेखिका प्रजातन्त्रका अर्थात् परिवर्तनका प्रतीक मानिएका महापुरुषहरूका ऐतिहासिक भवनहरू जले । यसरी जल्ने/जलाइनेमा वास्तवमा नै सबै राणाकालदेखि पञ्चायत कालसम्म नागरिकहरूलाई स्वतन्त्र बनाउने महापुरुषहरू थिए । जस्तो विराटनगरको स्वतन्त्रता र नागरिक आन्दोलनका प्रथम कर्मशील व्यक्तित्व कृष्णप्रसाद कोइरालाले बनाएको घर, चाक्सीबारीमा गणेशमान सिंहका पुर्खाले बनाएको घर जहाँ निरङ्कुश पञ्चायती शासनबाट मुक्तिको विगुल फुकिएका थियो र बोडेमा साधुसन्तजस्ता नेता कृष्णप्रसाद भट्टाराई ‘किसुनजी’को कुटी जलाइयो । पुष्पलालको शालिक ढालियो । यी महापुरुषहरूप्रति यतिबेला आन्दोलनरत कसैले पनि यस प्रकारको अपमान गर्नुपर्ने कारण थिएन । तर जनताका लागि लडेका यस्ता वीर पुरुषका यस्ता ऐतिहासिक महत्वका स्थान जलाइए । यता नागरिक अधिकारका लागि लड्ने, जेलनेल निर्वासन भोगेका नेताहरूको घर, स्मारक, राष्ट्रिय सम्पदामा छानीछानी आगो लगाइँदा यो परिवर्तनलाई देखी नसहनेहरूले भने सानोभन्दा सानो पनि क्षति व्यहोर्नु परेन ।
यहीँबाट शंका उब्जिन्छ जेन–जीका काँधमा बन्दुक राखेर जनताका पक्षमा भएको परिवर्तनमाथि कसले प्रहार गरको हो ? अब खोज्नुपर्ने भएको छ । गणेशमानजीको चाक्सीबारी जलाउँदाको एउटा विवरण हेरियो भने यो प्रतिगामीहरूको योजनाबद्ध काम थियो भन्ने बुझ्न सकिन्छ । २४ गते अपराह्नपछिको समय नरदेवीतिरबाट एउटा जुलुस क्षेत्रपाटीतर्फ अघि बढिरहेको अवस्थामा त्यो भीडमा पसेर कसैले जुलुसलाई ठमेलतिर डोहो¥यायो र त्यस्तै निर्देश गर्दै गणेशमान सिंहको ऐतिहासिक निवास चाक्सीबारीमा पु¥याइयो । समाचार विवरणमा आएअनुसार त्यसपछि भीडबाट निर्देश गर्नेहरूकै आवाज आयो– ‘यही हो, यही हो, आगो लगा ।’ आगो लाग्दै गर्दा त्यहीभित्रबाट यो गणेशमानको घर हो भनेर परिचय पनि गराइरहिएको थियो । आगो पनि यसरी लगाइयो कि त्यहाँ रहेका ऐतिहासिक र परिवर्तनका चिह्नहरू केही बाँकी नरहून् । घरअगाडि टहरोमुनि पार्किङमा भएका गाडीहरूमा आगो लगाइयो । त्यहाँ भएका गाडीहरू दनदनी बल्ने भए नै । आगो लगाइसकेपछि पनि उनीहरूको रिस मरेन । त्यही ठाउँबाट सिंह निवासमा ढुंगा हान्ने काम भइरह्यो । यो आगजनीमा सिंह निवासको पार्किङ र सचिवालयको टहरो मात्र परेन, जहाँ २०४६ साल माघ ५, ६ र ७ गते देशविदेशका नेताहरूलाई बोलाएर सम्मेलन गरिएको थियो र त्यही सम्मेलनबाट २०४६ फागुन ७ गतेदेखि प्रजातन्त्र पुनस्र्थापनाका लागि वारपारको जनआन्दोलन गर्ने प्रस्ताव पारित भएको थियो । यसलाई त खरानी समेत नरहने गरी चलाईचलाई जलाइयो ।
गणेशमान सिंह त्यस्तो व्यक्ति हुन्, जो पञ्चायतविरुद्धको जनआन्दोलनको सर्वोच्च कमान्डर थिए । उनकै कमान्डबाट चलेको जनआन्दोलनले नेपाली जनतालाई रैतीबाट नागरिक बनाएको थियो । त्यसबेला सिंहको यो नेतृत्वलाई त्यसबेलाका सात बामपन्थी दलहरूले पनि स्वीकारेका थिए र संयुक्त बाममोर्चा बनाएर यो आन्दोलनमा सरिक भएका थिए । पञ्चायतविरुद्धको त्यो आन्दोलनको रथजस्तो थियो चाक्सीबारीको एउटा कुनामा गणेशमान सिंहले चढ्ने गरेको थोत्रो जिप । त्यसलाई ‘डेमोक्रेसी जिप’ भनिन्थ्यो । त्यो जिपको पनि अवशेष बाँकी रहेन । यसको अर्थ हो, यस्तो आगजनीकर्ताहरू अहिलेका सबैभन्दा कान्छो पुस्तालाई नेपाली जनता रैतीबाट कसरी नागरिक भए भनेर देखाउन चाहँदैन । यो भवन त्यस्तो हो, जो नेपाली जनता राजाका रैती भएर बस्न चाहँदैनन् मात्र होइन, सार्वभौमसत्ता जनताको हातमा हुन्छ भन्ने सन्देश दिइरहेको हुन्थ्यो । यो भवनमा पाँच पटक दोहो¥याएर आगो लगाइएको थियो । त्यसकारण यो एउटा भवन डढेको रूपमा मात्र लिन हुँदैन । कोइराला निवास र किसुनजीको आश्रमको आगलागी पनि यस्तै हो ।