काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गणेशमानको विचार र आचरण आज पनि जनभावनासँग मेल खाने बताएका छन् । नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २८औँ पुण्यतिथिका अवसरमा बिहीबार आयोजित श्रद्धाञ्जलिसभामा उनले समयको माग र चुनौतीअनुसार एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । उनले संविधानको भावना र मर्मअनुसार जनतालाई केन्द्रविन्दुमा राख्दै गणेशमानले देखाएको बाटो नै कांग्रेसको मार्गदर्शन हुने धारणा राखे । उनले भने, ‘गणेशमानको विचार र आचरण आज पनि जनभावनासँग मेल खान्छ, त्यसैले काँग्रेस कार्यकर्ताले त्यही पथ पछ्याउनुपर्छ ।’ कांग्रेस नेता इन्द्रमान महर्जनले गणेशमान सिंहको योगदान स्मरण गर्दै भ्रष्टाचारमुक्त, लोकतान्त्रिक मूल्यमा आधारित राष्ट्र निर्माणमा लाग्नुपर्ने बताए । कार्यक्रममा सहभागी कांग्रेस नेता तथा कार्यकर्ताले लोकतान्त्रिक आन्दोलनमा गणेशमान सिंहले पु¥याएको योगदान र बलिदानलाई सम्मान व्यक्त गर्दै उनको सालिकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ रहेका गणेशमान सिंहको २८औँ स्मृति दिवस बिहीबार देशभर विविध कार्यक्रम गरी मनाइएको हो । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहेका सिंह सबैका लागि प्रेरणाको स्रोत पनि हुन् । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा पनि उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए । विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मेका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो ।
काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंह विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा सक्रिय भएका थिए । राणाशासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायतलाई तत्कालीन सरकारले जेल हालेको थियो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोसिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए । उनले जेलबाट भागेर भारतमा पुगी अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । पछि विसं २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसको विकास र विस्तारमा आजीवन योगदान दिए ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिमा एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरे । देशमा प्रजातन्त्र बहाली र पुनः बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थककारूपमा रहेका थिए । विसं २०१५ सालमा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा काराबास जीवन बिताए । विसं २०२५ मा बीपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक संगठन विस्तार गरे । विसं २०३३ मा बीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सिंहले सक्रिय भूमिका खेलेका थिए ।
गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरे । बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गरे । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित उनले २०४६ सालको आन्दोलनमा महत्वपूर्ण योगदान दिए । कम्युनिस्ट पार्टीसँग मिलेर पञ्चायतविरुद्ध जनआन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनको सर्वोच्च कमान्डर थिए ।