काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको साधारण सेयर खरिदको लागि आवेदन दिने समय थप भएको छ । कम्पनीले यही भदौ ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको साधारण सेयरमा आवेदन दिने अवधि थप भई यही असोज ५ गतेसम्म कायम गरिएको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात् अब सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गरेको हो । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँबराबरको १४ लाख ५२ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने एक लाख ४५ हजार दुई सय कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले पाँच प्रतिशत अर्थात् ७२ हजार छ सय कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ भने ४३ हजार पाँच सय ६० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरेको छ । अब भने कम्पनीले सर्वसाधारण्का लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार छ सय ४० कित्ता सेयर निष्काशन गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।