पोखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीमा रहेको राइजिङ्ग स्टार युथ क्लबले राखेको खुला रक्तदानमा ६३ युनिट रगत संकलन भएको छ ।
क्लबको वार्षिक कार्यक्रमअन्तर्गत बिहीबार राखिएको खुला रक्तदानमा पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले युवाहरुले विकृति र विसंगतिबाट टाढै बसी समाज परिवर्तनका लागि काम गर्न सुझाव दिए । क्लबको सक्रियताको प्रशंसा गर्दै स्थानीयस्तरको विकास निर्माणमा युवाको सहभागिता रही रहने विश्वास व्यक्त गरे । क्लबका अध्यक्ष तिल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो । क्लबका पूर्वअध्यक्ष विष्णुप्रसाद गुरुङले सरसफाइ र खेलकुदको क्षेत्रबाट अगाडि बढाउँदै आएको क्लबले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत नै रक्तदान कार्यक्रम गरेको बताए । उनले रक्तदानको महत्व र उपयोगिताका बारेमा जानकारी गराएका थिए ।
क्लबको हालैमात्र कार्यसमिति पुनर्गठन समेत गरिएको छ । पुनर्र्गठित समितिको अध्यक्षमा तिलबहादुर गुरुङ, उपाध्यक्ष सुजन गुरुङ, कोषाध्यक्ष किरण गुरुङ, सचिव अर्जुन सापकोटा, सहसचिव कपिल गुरुङ रहेका छन् । यसैगरी, सदस्यहरुमा अनिष विक, चित्र गुरुङ, ईश्वर खत्री, भीम गुरुङ र प्रिजन पोखरेल रहेका छन् ।