काठमाडौं । ‘द एकेडेमी अफ् मोसन पिक्चर आट्र्स एन्ड साइन्सेस (अस्कर अवार्ड)’ मा नेपालको प्रतिनिधित्व ‘अञ्जिला’ चलचित्रले गर्ने भएको छ । नेपालस्थित अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले अमेरिकामा आयोजना हुने ९८औँ ‘अस्कर अवार्ड’मा ‘अन्तर्राष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको जानकारी दिएको हो ।
उक्त समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु र कलात्मकता प्रस्तुति, त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए । उनका अनुसार चलचित्रको गहन मूल्याङ्नपश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण र कलात्मक सिल्पलाई ध्यानमा राखेर चलचित्र छनोट गरिएको हो । उनले अस्करमा प्रतिस्पर्धा गर्नका लागि दुई नेपाली कथानक चलचित्र ‘गुन्यु चोलो (द ड्रेस) र ‘अञ्जिला’ प्राप्त भएको जानकारी दिए । चलचित्र अञ्जिला नेपाली महिला फुटबल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । खेलाडी सुब्बाले अभिनय गरेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।
उक्त चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले खेलाडीका विषयमा बनेको चलचित्रले नेपालको तर्फबाट प्रतिनिधित्व गर्नु गौरवको विषय भएको बताए ।