काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मर्यादितरुपमा उच्च मनोबलका साथ व्यवसाय गर्ने वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गरेको छ ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको टोलीले बिहीबार गृहमन्त्री ओम प्रकाश अर्यालसँग भेटी शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारलाई तत्काल ठोस कदम चाल्न सुझाव दिएको हो । महासंघ अध्यक्ष ढकालले निजी क्षेत्रले जिल्ला जिल्लामा सुरक्षाको अनुभूति गर्न नसकिरहेकोमा सरकारले सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे । साथै, कतिपय उद्यमी व्यवसायी प्रहरीका संरचना पुनःनिर्माणका लागि तयार रहेको बताउँदै अध्यक्ष ढकालले यसका लागि उद्योग वाणिज्य संघहरुमार्पmत सहकार्यका लागि प्रमुख जिल्ला अधिकारीहरुलाई जानकारी गराउन पनि आग्रह गरे । यसैगरी, आन्दोलनका क्रममा भएको घुसपैठबाट निजी क्षेत्रको सम्पत्तिमाथि भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्नहरूमाथि कारबाही गर्न पनि मन्त्री अर्याल समक्ष आग्रह गरे ।
मुलुकको राजस्वमा योगदान दिनुका साथै रोजगारी दिइरहेको निजी क्षेत्रलाई मर्यादित रुपमा काम गर्न सक्ने वातावरण सिर्जनाका लागि सरकारले सकारात्मक सन्देश प्रवाह पनि गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ थियो । ‘नेपाली अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ भने ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिइरहेको छ’, उनले भने । भेटमा गृहमन्त्री अर्यालले आम नागरिक तथा व्यवसायीहरूको शान्ति सुरक्षाका विषयमा सरकार संवेदनशील रहेको बताए ।
महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्र्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरतराज आचार्यले आन्दोलनका क्रममा निजी क्षेत्रका सयौं व्यवसाय स्थापना प्रभावित भएको, तोडफोड र आगजनीका कारण ठूलो आर्थिक क्षति भएको बताउँदै सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेका थिए । उनीहरुले दोषीमाथि कारबाही नगरिए दण्डहीनताको अवस्था सिर्जना हुनेतर्फ गृहमन्त्रीको ध्यानाकर्षण गराए । महासंघले घटनामा भएको क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ ।
महासंघले भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा निजी क्षेत्रका भौतिक संरचनामा भएको क्षतिको स्थलगत समेत निरीक्षण गरेको थियो । महासंघका अध्यक्ष ढकालको नेतृत्वको टोलीले बुधबार काठमाडौंस्थित होटल हिल्टन, कान्तिपुर मिडिया ग्रुप, गोल्छा गु्रप र भाटभटेनी सुपरमार्केट तथा व्यवसायी उपेन्द्र महतोको क्षतिग्रस्त संरचनाको निरीक्षण गरेको हो । निरीक्षणका क्रममा महासंघका अध्यक्ष ढकालले निजी लगानी सुरक्षित हुन सक्ने वातावरण निर्माण गर्नु आजको प्राथमिकता रहेको र लगानीकर्तामा विश्वास जगाउन राज्यको दायित्व भएको बताए । ‘देशको समग्र आर्थिक विकास तथा रोजगारी सिर्जनामा निजी क्षेत्रको ठूलो योगदान छ । पछिल्लो विकसित घटनाक्रमले व्यावसायिक सुरक्षामा गम्भीर प्रश्न उब्जाएको छ । निजी क्षेत्रको सम्पत्ति संरक्षण र व्यावसायिक स्थिरताका लागि शान्तिपूर्ण वातावरण अपरिहार्य छ’, उनले भने ।
अध्यक्ष ढकालले घटनाका दोषीमाथि कारबाही र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नहुने बताए । निरीक्षणका क्रममा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्र्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्यसहित महासंघका सदस्यहरुले व्यवसायी उपेन्द्र महतो, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिन बहादुर गुरुङ तथा हिल्टनका सञ्चालकहरुसंग घटनाक्रम तथा क्षतिबारे जानकारी लिएका थिए । महासंघले व्यवसायीको सुरक्षा, व्यावसायिक वातावरण निर्माणमा सधैं व्यवसायीहरुको साथमा रहेको जनाएको छ ।