काठमाडौं, नेपाली कांग्रेसले संसद् विघटनलाई असंवैधानिक भन्दै विरोध गर्ने निर्णय गरेको छ।आज सानेपास्थित पार्टी कार्यालयमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले संसद् विघटनप्रति आपत्ति जनाउँदै यसविरुद्ध अन्य दलहरूसँग सहकार्य गर्ने निष्कर्ष निकालेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए। बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले हालैको जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाट घटनाको निन्दा तथा भर्त्सना गरिएको बताए। ‘घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गर्दछौँ,’ विश्वकर्माले भने। कांग्रेसले संसद् विघटनको मुद्दालाई लोकतान्त्रिक व्यवस्थामाथिको गम्भीर आक्रमणका रूपमा व्याख्या गर्दै दलहरूमाझ सहकार्य गरेर प्रतिरोध गर्ने तयारी गरेको छ।