काठमाडौं ।इजरायलसँग युद्धरत प्यालेस्टाइनको हमासले ४८ बन्दीको तस्बिर सार्वजनिक गरेको छ । विदाइ तस्बिर भन्दै सार्वजनिक गरिएको सूचीमा नेपालमा विपिन जोशी समेत छन् ।हमासको सशस्त्र शाखा क्वसम ब्रिगेडले शनिबार अनलाइनमा ४८ जनाको फोटो सार्वजनिक गरेको अल जजिराले जनाएको छ । त्यसमा मृतक र जीवित दुवैखाले बन्दी रहेको बताइएको छ । सबै तस्बिरको तल ‘रन अराड’ उल्लेख छ । रन अराड सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुरक्षा बलका क्याप्टेन हुन् । जसलाई मारिएको बताइए पनि प्रमाण भने फेला परेको छैन । हमासले सार्वजनिक गरेको तस्बिरमा लेखिएको छ, ‘नेतान्याहुको अस्वीकार र जामिरको समर्पणका कारण गाजा सहरमा सैन्य अपरेसन सुरु भएसँगै एउटा विदाइ तस्बिर ।’ इजरायली प्रधानमन्त्री नेतान्याहुले हमाससँगको सम्झौता बारम्बार अस्वीकार गरिरहेका छन् भने इजरायलले गाजामा आक्रमण जारी राखेको छ । यसैलाई हमासले विदाइ तस्बिरको क्याप्सनसँग जोड्न खोजेको बुझिन्छ । इजरायली अधिकारीहरुले २० जना बन्दी अझै गाजामा जीवितै रहेको उल्लेख गरेका छन् । जबकि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्योभन्दा पनि कम संख्यामा जीवित बन्दी रहेको संकेत गरिसकेका छन् । दुवै नेताहरुले जीवित र मृतक सबै बन्दीलाई हमासको पञ्जाबाट छुटाउने जिकिर गर्दै आएका छन् । हमासले इजरायलले आक्रमण जारी राखे बन्दीहरुको जीवन जोखिममा पार्ने चेतावनी दिँदै आएको छ । यही महिनाको सुरुतिर हमासले दुई इजरायली बन्दीको भिडिओ सार्वजनिक गरेको थियो । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणबाट हालसम्म कम्तीमा ६५ हजार दुई सय आठ जनाको मृत्यु र एक लाख ६६ हजार दुई सय ७१ जना घाइते भएको उल्लेख गरेको छ । २०२३ अक्टोबरमा हमासले आक्रमण गरेको बदलामा इजरायलले प्यालेस्टाइनमाथि व्यापक कारबाही थालेको थियो ।हमासको आक्रमणमा १० नेपालीको मृत्यु भएको थियो भने विपिन जोशी सोही समयदेखि बन्धक बनेका छन् । नेपालले जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायहरुसँग कूटनीतिक प्रयास गर्दै आएको छ ।