काठमाडौं । सरकारले यात्रुवाहक सार्वजनिक सवारी साधानहरु नागढुङ्गा–सिस्ने खोला सुरुङ्गमार्गबाट बाहिर जान सक्ने व्यवस्था गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारी साधानहरुमध्ये यात्रुवाहक सार्वजनिक सवारी साधानहरु नागढुङगा–सिस्ने खोला सुरुङ्गमार्गबाट बाहिर पठाउने बताएका हुन् ।
उनले काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारी साधनहरुमध्ये यात्रुवाहक सार्वजनिक सवारी साधनहरु सो सुरुङ्गमार्गबाट बाहिर जाने र दशैँपछि माथि उल्लिखित सवारी साधनहरु प्रवेश गर्ने–गराउने व्यवस्थाका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने निर्णय गरेका हुन् । चाडपर्वको समयमा सार्वजनिक यातायातको सहज व्यवस्थापन गर्नका लागि सोसहित उनले शनिबार सातवटा निर्णय गरेका हुन् । सार्वजनिक यातायातसँगै मन्त्री घिसिङले सुरक्षा व्यवस्था, मालवाहक सवारीसाधन सञ्चालन, सडक स्तरोन्नतिलगायतका निर्णय गरेका छन् ।
सुरक्षा व्यवस्थापन सम्बन्धमा भने काठमाडौं उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गहरुमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी संख्या थप गर्न गराउन नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने, मालवाहक ठूला सवारीसाधनहरु सञ्चालन सम्बन्धमा भने राजमार्गहरुको कमजोर अवस्था तथा यात्रुवाहक सवारी साधनहरुको आवागमनलाई प्राथमिकता दिनुपर्ने भएकाले बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैँ अवधिभर लागू हुनेगरी ठूला भारवाहन सवारी साधनहरु (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नगर्न नगराउन अनुरोध गर्ने तथा खाद्यान्नलगायतका अत्यावश्यक सामग्रीहरु ढुवानी गर्ने सवारी साधनहरुलाई निरन्तर आवागमन हुने व्यवस्था गर्ने गराउन निर्देशन दिएका छन् ।
वर्षासँगै आएको बाढी पहिरोका कारण देशका विभिन्न राजमार्गहरु अवरुद्ध रहेको छ भने सडकको अवस्थामा समेत राम्रो छैन । सोही कारणले गर्दा उनले सडक स्तरोन्नति तथा सुधार गर्नका लागि सडक विभागलाई निर्देशन दिने बताएका छन् । मुलुकभरका मुख्य सडकहरुलाई चुस्तदुरुस्त राख्न, सुधार गर्न गराउन, पहिरोजन्य विपद्हरुको व्यवस्थापन गर्न आवश्यक सामाग्री तथा यन्त्रहरुको व्यवस्थापन गर्न, बुटवल–नारायणगढ सडकको दाउने खण्डमा २४सै घण्टा दुईतर्फी यातायात सञ्चालन गर्न, नारायणगढ मुग्लिन सडकखण्डको तुइन खोलामा भएको अवरोध (पहिरो) हटाई तत्काल यातायात सञ्चालनमा ल्याउने र तातोपानी नाकालाई जोड्ने मुख्य सडक दशैँ अगाडि नै सञ्चालनमा ल्याउने गरी आवश्यक कार्य गर्न गराउन सडक विभागलाई निर्देशन दिने मन्त्री घिसिङको भनाइ छ । विभागले नागरिकलाई सडकको अवस्थाको बारेमा जानकारी गराउन कन्ट्रोल रुमको व्यवस्थापन गर्नुपर्ने भएको छ ।
मुलुकभरको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन २४ घण्टा नै सञ्चालन हुनेगरी फोकल पर्सन समेतको व्यवस्थापन गराई कन्ट्रोल रुमको व्यवस्थान गराउन सडक विभागलाई निर्देशन दिने र आम नागरिकहरुलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न हुन अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्न उनले मन्त्रालयहरुलाई निर्देशन दिएका हुन् ।
सार्वजनिक सवारी साधनहरुलाई सुरक्षित तथा प्रविधिमैत्री बनाउने सम्बन्धमा कार्यविधि/निर्देशिका यातायात व्यवस्था विभागले तयार गरी यथाशीघ्र मन्त्रालयमा पेश गर्न समेन मन्त्री घिसिङले निर्देशन दिएका छन् । हाल नेपाल प्रहरीले देशभरका राजमार्गको अवस्थाको बारेमा सार्वजनिक जानकारी प्रदान गर्दै आएको छ । नागरिकलाई राहत दिने उद्देश्यले राजमार्गको अवस्थाको जानकारी दिने काम गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार बाढी र पहिरोका कारण देशभरका विभिन्न १७ वटा सडक अवरुद्ध छन् । वर्षा पछि आएको बाढी र पहिरोकारण रसुवाको गल्छी–त्रिशुली–मेलुङ्ग–स्याप्रुबेसी–रसुवागढी सडकखण्ड अवरुद्ध छ । यता हुम्लाको कर्णाली कोरिडोरको खुलालु–सल्लीसल्ला सडकखण्ड पनि पहिरोको कारण अवरुद्ध छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले संखुवासभामा कोशी सडक आयोजनाको लेगुवाघाट–तुम्लिङ्गटार–खाँदबारी खण्ड पनि अवरुद्ध रहेको जानकारी दिए । ताप्लेजुङको मेलघाट दोभान सडकखण्ड, रुकुम पश्चिमको भेरी करिडोर, रोल्पाको सहिद मार्ग सडक आयोजनामा निरन्तरको वर्षा र पहिरोका कारण सडक बन्द भएको छ । सुर्खेत, सङ्खुवासभा, सिन्धुपाल्चोक, म्याग्दी, बैतडी, अर्घाखाँची, ओखलढुङ्गा, चितवनका विभिन्न सडकखण्ड पहिरोको कारण अवरुद्ध छन् ।
शुक्रबारदेखि निरन्तर खसेको पहिरोको कारण शनिबार पनि मुग्लिन– नारायणगढ सडकखण्डमा दुईतर्फी आवागमन अवरुद्ध छ । चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा शुक्रबारदेखि निरन्तर पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो पहिरो खस्न कम भएसँगै पहिरो हटाउने काम भएको हो । मुग्लिनबाट करिब दुई किलोमिटर नारायणगढतर्फ इच्छाकामना गाउँपालिकाको तुइन खोला भन्ने स्थानमा माथिबाट ठूलो पहिरो खसेको हो । सडक अवरुद्ध भएसँगै शुक्रबार रातिदेखि नै यात्रुहरू बाटोमै अलपत्र परेका छन् । राजमार्गको दुवैतर्फ सवारीसाधनको लामो लाइन लागेको छ ।
शनिबार मन्त्रालयमा भएको बैठकमा सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारी सहभागी थिए ।