काठमाडौं । डोंगफेंग मोटर ग्रुपलाई प्राइभेट बनाउन लागिएको छ । कम्पनीको प्राइभेटाइजेसन प्लान सार्वजनिक भएपछि कम्पनीका सेयरहरू शुक्रबार तीव्र गतिमा बढेका थिए । हङकङमा कारोबार हुने कम्पनीका सेयरहरू करिब आठ वर्षयताको सबैभन्दा उच्चस्तरमा पुगेका हुन् ।
यस घोषणापछि हङकङको बजारमा डोंगफेंगका सेयरहरू एकै दिनमा झण्डै ६९ प्रतिशतले बढेको थियो भने अन्तिममा ५७ प्रतिशतभन्दा बढी उच्चमा बन्द भए । रिपोर्टहरूका अनुसार प्राइभेटाइजेसन सम्झौताको मूल्य करिब सात अर्ब अमेरिकी डलरजतिको हुनेछ । यसलाई धेरैले डोंगफेंगको शक्ति र सम्भावनाप्रतिको नयाँ विश्वासका रूपमा व्याख्या गरेका छन् । डोंगफेंग मोटर ग्रुपले दशकौँदेखि चीनको प्रमुख अटो कम्पनीको रूपमा सस्तो, भरपर्दो र ग्राहकमुखी सवारीसाधन उपलब्ध गराउने कम्पनीको रूपमा प्रतिष्ठा कमाएको छ । यो ब्रान्ड आफ्नो ‘भ्याल्यु–फर–मनी’ का लागि चिनिन्छ, जुन किफायती मूल्य र राम्रो पर्फर्मेन्स गर्ने गाडीका रुपमा लाखौँ चालकहरूको रोजाइमा परेको छ ।
प्राइभेटाइजेसन प्लान डोंगफेंगलाई दीर्घकालीन रणनीति अघि बढाउन अझ लचिलो बनाउन तयार गरिएको हो । स्वतन्त्रता बढेसँगै कम्पनी छिटो निर्णय लिन, सञ्चालनको क्षमता अझै मजबुत बनाउन र उद्योगमा आउने परिवर्तनहरूलाई छिटोसँग सामना गर्न अझ सक्षम हुनेछ । यसैबीच, डोंगफेंगले आफ्नै प्रिमियम इलेक्ट्रिक गाडीको ब्रान्ड भोयालाई छुट्टै लिस्टिङ गरेर हङकङ सेयर बजारमा ल्याउने तयारी पनि गरिरहेको छ । भोयाले तीव्रगतिमा बढ्दै गएको इलेक्ट्रिक गाडीको बजारमा कम्पनीको ठूलो प्रयासलाई प्रतिनिधित्व गर्छ । यसले उपभोक्तालाई आधुनिक प्रविधि, आकर्षक डिजाइन र दिगो यातायात समाधान उपलब्ध गराउँछ । बजारमा लिस्टिङ भएपछि भोयालाई आफ्नो वृद्धि थप अघि बढाउन, उत्पादनहरूको दायरा विस्तार गर्न र विश्वबजारमा प्रतिस्पर्धात्मक क्षमता अझ बलियो बनाउन आवश्यक स्रोत प्राप्त हुनेछ ।
आगामी दिनमा डोंगफेंग मोटर ग्रुपले आफ्नो किफायतीपनको परम्परा कायम राख्दै नयाँपन र प्रविधिमैत्री भविष्यतर्फ अघि बढ्ने लक्ष्य लिएको छ । प्राइभेटाइजेसन र भोया लिस्टिङ दुवैको संयोजन कम्पनीको अड्याप्टेसन, वृद्धि र ग्लोबल अटो उद्योगमा गर्ने नेतृत्व क्षमताप्रतिका प्रतिबद्धता हुन् । ग्राहकलाई आफ्नो केन्द्रमा राखेर डोंगफेंगले इलेक्ट्रिक मोबिलिटीको भविष्यलाई आकार दिँदै भविष्यमा पनि भरपर्दो र किफायती गाडी उपलब्ध गराइरहने बताएको छ ।