काठमाडौं । गत जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी सन्तबहादुर तामाङले आफ्नै श्रीमतीको हत्या गरेर घरको करेसामा गाडेको खुलासा भएको छ। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ कलाँतीस्थित घर पछाडिको करेसामा ३१ वर्षीया जमुना तामाङको शव फेला परेको प्रहरीले जनाएको छ। उनी तीन दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजतलास गर्ने क्रममा शव भेटिएको हो। जर्बजस्तीकरणी उद्योगमा तीन वर्षे कैद सजाय भोगिरहेका तामाङ २४ गते नख्खु कारागारबाट भागेका थिए। उनको सजाय अवधि सकिन अब एक महिना मात्र बाँकी थियो।हत्या गरेर फरार भएका तामाङ पछिल्ला दिनमा श्रीमतीसँग निरन्तर झगडा गर्दै आएको स्थानीयले बताएका छन्। मृतकका ११ वर्षका छोरा र तीन वर्षकी छोरी रहेका छन्। प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ भने फरार तामाङको खोजी तीव्र पारेको जनाएको छ।