काठमाडौं । सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमा थप पाँच मन्त्री सिफारिस गरिएको छ । प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीशसहित पाँच जनाको नाम राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पठाएकी हुन् ।
यसअनुसार उद्योगमन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, स्वास्थ्यमन्त्रीमा मन्त्रालयकै अतिरिक्त सचिव संगीता कौशल मिश्र, कृषि तथा पशुपन्छीमन्त्रीमा मदन परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीमा महावीर पुनलाई सिफारिस गरिएको छ ।
परियार राज्य पुनर्संरचना आयोगका पूर्वसंयोजक हुन् भने जगदीश खरेल पत्रकार हुन् । पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन् । यसअघि कार्की सरकारमा अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन् ।
हितेन्द्रलाई हटाइयो
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त गर्दै हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रुपमा पठाएको छ ।
शाक्यलाई यसअघि पनि ऊर्जा आयोगमै पठाइएको थियो । सिलवाल प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक हुन् । सिलवालको कार्यावधि ४ वर्षको रहनेछ । तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत ११ गते शाक्यलाई नियुक्त गरेको थियो ।
सीआईबी प्रमुख बने केसी
यसैबीच, आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । निर्णयअनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई सरुवा गरिएको छ ।
हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागको प्रमुख रहेका केसीलाई सीआईबीको जिम्मेवारी दिने निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकले गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।
यसअघिका सीआईबी प्रमुख समेत रहेका चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षक नियुक्त भएपछि रिक्त भएको पदमा यसअघिको सरकारले कुनै निर्णय नगरी राखेको थियो ।
कार्की राष्ट्रिय अनुसन्धानका प्रमुख
त्यसैगरी सरकारले देशको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख (मुख्य अनुसन्धान निर्देशक)का टेकेन्द्र कार्कीलाई नियुक्त गरेको छ ।
हुतराज थापा बिदा भएसँगै रिक्त भएको उक्त पदमा कार्कीलाई नियुक्त गर्ने आइतबार मन्त्रिपरिषद्ले निर्णय गरेको हो। नयाँ नेतृत्वका लागि एउटै ब्याचका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्की र ओमप्रकाश जोशी प्रतिस्पर्धामा थिए ।
कार्की र जोशी यसअघि बिदा भएका थापासँगै ०५३ पुस ५ गते निरीक्षक पदबाट सेवा प्रवेश गरेका हुन् । जोशी कार्कीभन्दा डेढ महिना पहिले अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएका थिए। कार्की मुख्य अनुसन्धान निर्देशकमा ३ वर्ष रहनेछन्। गुप्तचरमा उमेर हद र पदावधिका कारणमात्रै अवकाश हुने व्यवस्था छ । कार्कीले पुरै कार्यकाल काम गर्न पाउनेछन् ।