काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको भ्रष्टाचारविरोधी आन्दोलन जेन–जी युवाहरु आफैँले देखेभोगेको भ्रष्टाचारको खिलाफमा उठेको थियो । सन् १९९७ देखि सन् २०१२ सम्म जन्मेका २८ वर्षमुनिका जेन–जी पुस्ताको आह्वानमा भएको भ्रष्टाचारविरोधी आन्दोलन आफैँमा एक परीक्षक पनि थियो । विभिन्न समूहमा रहेका जेन–जीहरु आ–आफ्नै समूहको आह्वानमा भएको भ्रष्टाचारविरोधी आन्दोलन आफैँमा एक परीक्षण पनि थियो ।
विभिन्न समूहमा रहेका जेन–जीहरु आ–आफ्नो समूहको आह्वान र कमान्डमा स्कुल कलेजको डे«समा २३ गते आन्दोलनमा सहभागी भएका थिए । यो पुस्ता ११/१२ पढ्दै गरेको र त्यो सकेर पढ्न वा काम गर्न विदेश जाने तरखरमा रहेको पुस्ता हो । १२ पास गरेपछि विदेश जाने पूर्वतयारीमा यो पुस्ताले नागरिकता बनाउँछ, राष्ट्रिय परिचयपत्र बनाउँछ, पासपोर्ट बनाउँछ, नो अब्जेक्सन लेटर बनाउँछ । त्यसका लागि मोटरसाइकलमा वडा कार्यालयमा घाउँछ, सीडीयो कार्यालयमा धाउँछ, राहदानी विभाग धाउँछ, शिक्षा मन्त्रालय धाउँछ । जहाँ–जहाँ जान्छ, उसले त्यहाँ–त्यहाँ घुस नदिई काम गर्न सक्दैन ।
यो पुस्ता घुस नदिई काम गर्न सक्दैन । यो पुस्ता घुस लिन दिन चाहँदैन । बाटोमा ट्राफिक प्रहरील समाउँछ, घुस माग्छ, घुस नदिएपछि चिट काट्छ, बग्गीखानामा क्लास लिन पठाउँछ । यो पुस्ताले आफ्नो मुलुकमा देखेको र भोगेको भ्रष्टाचार यही हो । त्यही लाइनमा सत्ताधारी ठूलाठालुका छोराछोरीले सजिलै वडाको सिफारिसदेखि नागरिकता पासपोर्ट, राष्ट्रिय परिचय पत्र, ड्राइभिङ लाइसेन्स पाएको आफ्नै आँखाले देखेको हुन्छ र त्यो विभेद उसलाई मनपरेको हुँदैन । यो पुस्ता घुमेका यी हरेक कार्यालयमा घुस नदिई काम हुँदैन तर भाषणमा सबैतिर सुशासनको राग अलापिन्छ । त्यो घुसखोरी व्यवहारले आजित भएको जेन–जी पुस्ता त्यसैकोविरुद्ध विद्रोहमा उत्रेको हो ।
प्रधानमन्त्री केपी ओलीले चीनका राष्ट्रपति सीजीन पिङसँग गरेको जीएसआईप्रतिको सहमतिका विरुद्ध पश्चिमा योजनामा उठाइएको होस् या सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध आक्रोशित युवा सेन्टिमेन्ट क्याच गर्न खोजिएको नै किन नहोस् जेन–जी पुस्ताले आफैँले देखेको भोगेको भ्रष्टाचारचाहिँ यिनै थिए । यो पुस्ता मुलुकमा भएको नीतिगत भ्रष्टाचारको जरोसम्म पुगेको पनि छैन तर आफ्नै पुस्तामा देखिने पावरदारहरुका छोराछोरीको जीवनशैलीबाट उसले आफूलाई निकै असहज ठानेको हुन्छ र असंगठित भएर पनि जेन–जी पुस्ताको भावतात्मक विद्रोह त्यहीकारण सफल भएको थियो । अब यसले व्यवहारमा कत्तिको परिर्वतन ल्याउँछ, त्योचाहिँ हेर्न बाँकी छ ।