काठमाडौं । जेन–जी पुस्ताको विद्रोहको राप र ताममा नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको छ । जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते कांग्रेस सभापति शेरबहादुर देउवामाथि सांघातिक आक्रमण भयो उक्त आक्रमणबाट गम्भीररुपमा घाइते भएका सभापति देउवालाई नेपाली सेनाले आठ घण्टा ढिलो गरी उद्दार गरेर आफ्नो कब्जामा उपचार गरिरहेको छ ।
उनको स्वास्थ्य अवस्थामा सुधार हुँदै आएको भनिए पनि औपचारिक सूचना सार्वजनिक भएको छैन । तर पनि कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जेन–जी विद्रोहबाट पाठ सिकेर पार्टी पुनर्गठन गर्नुपर्ने संयुक्त प्रस्ताव राखेका छन् । तर पार्टीको पदाधिकारी बैठकले त्यसलाई अस्वीकार गरेपछि उनीहरुले उक्त संयुक्त प्रस्ताव रोकेका छन् ।
अस्वीकृत भएपछि उनीहरुले उक्त प्रस्तावमाथि जिल्ला–जिल्लामा बहसका लागि पठाएका छन् । महामन्त्री थापाले पहिलेजस्तो हात नउठाउने सन्देश पनि दिएका छन् । महामन्त्री थापाले सभापति देउवालाई पद छाड्न सम्झाउने फकाउने तर नसम्झिए, नफकिए अब हात नउठाउने निर्णय गरेर अघि बढ्ने सन्देश दिएका छन् ।
महामन्त्रीद्वय थापा र शर्माको प्रस्तावको पक्ष नेपाली कांग्रेसका ६७ जिल्लाबाट समर्थन प्राप्त भइसकेका बताइएको छ । घाइते सभापति देउवा स्वस्थ भएपछि मंसिरभित्र विशेष महाधिवेशन वा पार्टी महाधिवेशन गरेर उक्त पद हस्तान्तरण गर्न दबाब दिने तर त्यसो नगरिएका जिल्ला समितिहरुको मागको आधारमा आफैं विशेष महाधिवेशन गराएर देउवालाई पार्टीबाट हटाएर आगामी फागुन २१ गते गर्ने भनिएको निर्वाचनमा सहभागी हुने तयारी थालिएको छ ।
त्यसरी निर्वाचनमा जाँदा शर्मालाई राष्ट्रपति र थापालाई प्रधानमन्त्रीका रुपमा अघि सारिने बुझिएको छ । त्यसरी उम्मेदवार घोषणा गरेर जाँदा जेन–जी पुस्ता र वामपन्थीहरुको पनि आफूहरुलाई समर्थन प्राप्त हुने उनीहरुको प्रारम्भिक अनुमान रहेको छ । थापाको नेतृत्वमा चुनावमा जाँदा पार्टीले सनातन हिन्दु गणतन्त्रको नारा अघि सार्ने र त्यसो गर्दा राजा बोकेर हिँडेका समूहले पनि धर्मका नाममा आफूलाई सहयोग गर्ने अपेक्षा गरेका छन् ।
भारत र चीनले लिपुलेकमा संयुक्त बजार बसाउने भनी यही सेप्टेम्बर २ तारिखमा दिल्लीमा सम्झौता गर्नुअघि महामन्त्री थापा दश दिने भारत बसाइँबाट स्वदेश फर्किएका थिए र त्यतिबेला उनले भारतमा गृहमन्त्री अमित शाह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल र आरएसएस प्रमुख मोहन भागवतसँग राजनीतिक लाइन मिलाएर फर्किएको बताइएको छ ।
अहिलेको जेन–जी विद्रोहलाई सुरक्षित अवतरण गर्न प्रमुख भूमिका निर्वाह गरेका नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई प्रधानसेनापति बनाउने समयमा पनि निकै सहयोगी भूमिका निर्वाह गरेका महामन्त्री थापासँग अहिले पनि प्रधानसेनापति सिग्देलको अत्यन्त राम्रो सम्बन्ध रहेको छ ।
उतिबेला रक्षामन्त्री पूर्णबहादुर खड्का थिए । प्रधानमन्त्री प्रचण्ड कांग्रेसी रक्षामन्त्री खड्काको समर्थनमा सिग्देललाई नियुक्त गर्न चाहन्थे, ताकि यसअघिको रुक्मांगद कटुवालको नियुक्तिको बेलाजस्तो लफडा नहोस् भन्ने थियो । रक्षामन्त्री नहोस् भन्ने थियो । रक्षामन्त्री खड्काले महामन्त्रीद्वय थापा र शर्माको साथ खोजेका थिए ।
उनीहरुले तत्कालीन राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको सहयोग चाहेका थिए । उनीहरुको सामूहिक सहयोग र समर्थनमा सिग्देल प्रधानसेनापति बनेका थिए । अहिले राष्ट्रिय राजनीतिमा सेनाको महत्वपूर्ण भूमिका रहेको बेला उनीहरुले पनि मौका छोपेर देउवालाई पाखा लगाउने प्रयास गरेका हुन् ।
देशभित्र र बाहिरको परिस्थितिको सन्तुलन मिलाएर महामन्त्रीद्वय थापा र शर्माले अघि सारेको प्रस्तावमा कार्यकर्ताको समर्थन जुट्दै जाने क्रम बढेको मात्र नभई कांग्रेसप्रति जनतामा घट्दै गएको आकर्षण फेरि एकपटक जाग्रित हुने अपेक्षा गर्न थालिएको छ ।