काठमाडौं । गत भदौ २३ र २४ गतेको भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा देशभर बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, कृष्णप्रसाद भट्टराईका शालिकहरु ढालिए । प्रदर्शनकारीहरुले हम्मर र पिकले हानेर प्रजातान्त्रिक आन्दोलनका महापुरुषहरुको शालिक निर्ममरुपमा ढाले ।
उनीहरुको शालिक प्रजातान्त्रिक विचार र अवस्थाका कारण ढालिएका होलान् । तर त्यो आन्दोलनमा प्रजातन्त्रको गला निमोठ्ने राजा महेन्द्र र हारथोक भएपछि जनतालाई प्रजातन्त्र फर्काउने राजा वीरेन्द्रका शालिक काहीँकतै पनि तोडफोड भएनन् वा ढालिएनन् । जेन–जी विद्रोहको नाममा घुसपैठियाहरुको आस्थाका केन्द्र थिए होलान्, मण्डलेहरुले त्यो लुटपाट आगजनी र तोडफोड मच्चाएका थिए होलान्, त्यही कारण उनीहरुले आफ्नो आस्थाका केन्द्र राजा महेन्द्र, वीरेन्द्रका शालिकमा केही पनि नगरेका होलान् ।
तर प्रश्न यो पनि आउँछ कि काठमाडौंको नयाँ सडकमा रहेको राणा शासक जुद्ध शमशेरको शालिक किन उनीहरुले नढालेका होलान्, त्यसमा तोडफोड किन नभएको होला, अहिले जनमानसमा गाईँगुई कुरा चल्न थालेको छ ।