संघारमै आइसकेको दशैँको यात्रालाई सहज बनाउन नयाँ सरकारले थुप्रै निर्णयहरू गर्यो । सरोकारवालासँगको छलफलपछि गरिएको यस्तो निर्णयले वास्तवमा नै यातायातलाई सहज बनाउला भन्ने अपेक्षा छ, जो स्वाभाविक पनि हो । जुनसुकै दशैँका बेला पनि १२ देखि १५ लाखसम्मको संख्याले काडमाडौं उपत्यका छाड्छन् । अघिल्ला वर्षहरूमा महिना दिनअघिदेखि बुकिङ खुल्ने गर्दथ्यो । यो पटक भने अत्यधिक वर्षाको कारण त्यस्तो भएन । यही वर्षाले पूर्वतर्फ जाने वैकल्पिक मानिएको बीपी राजमार्ग दशैँमा कामचलाउ त बनाइएको छ तर यात्रुका लागि भरपर्दो हुन सकेको छैन । योभन्दा पनि अहिलेको खतरा परम्परा मार्ग नै भएका छन् । करिब तीन दिन मुग्लिन–नारायणघाट सडकखण्डमा गएको सुक्खा पहिरोले करिब १२–१५ हजारको संख्याका सवारीसाधन तीन दिन रोकिए । पश्चिमतर्फको दाउन्ने खण्ड त अवरोधको स्थायी छँदै थियो । यसको सन्देश यसरी फैलिएको छ, जसले केन्द्रीय राजधानीबाट यो पर्वमा बाहिर जान खोज्नेहरूलाई मात्र होइन उनका परिवारलाई मानसिक यातना नै दिएको पाइयो ।
यो दशैँमा काठमाडौंबाट बाहिरिने यात्रुवाहक सवारीसाधनका लागि बहुचर्चित नागढुंगा सुरुङमार्ग प्रयोगमा आउन खुला गरिएको थियो । अघिल्लो दशैँमा यही खण्डमा ठूला दुर्घटना अर्थात् पहिरोले ठूला यात्रुवाहक बस नै पुरिएका थिए । यो पटक नागढुंगा सुरुङमार्ग प्रयोगमा आउन दिइएको पृष्ठभूमि यो पनि एउटा हुनुपर्छ । तर यो मार्गमा नयाँ संकट अर्को खण्डमा थपिएको अवस्था छ । यसले यात्रु मात्र होइन खाद्यान्नलगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधनको आवागमनमा अवरोध हुँदा दशैँकै मुखमा वस्तुको अभाव पनि चुलिन गएको देखिन्छ । पछिल्लो समय नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइन खोलाको पहिरोले सवारीसाधनलाई तीन दिन रोक्दाको अवस्था वास्तवमा नै अवर्णनीय नै हुन गएको देखियो ।
यद्यपि भौतिक मन्त्रालयले भने केही नयाँ व्यवस्था गरेको थियो । भर्खर मात्र एउटा ठूलो विध्वंसपछिको मानसिक त्रास हटाउने यो मन्त्रालयले सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरी गस्ती र संख्या थप गर्न गृहलाई अनुरोध गर्ने भनेर निर्णय गरेको थियो । अरु निर्णयमा दाउन्ने खण्डमा खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधनलाई आवागमनको व्यवस्था, मुलुकभरका मुख्य सडक चुस्त, दुरुस्त राख्न आवश्यक यन्त्रहरूको व्यवस्थापन, बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा चौबीसै घण्टा दुईतर्फी यातायात सञ्चालन गरिने, नारायणगढ–मुग्लिन सडकको तुइन खोलाको पहिरो हटाई यातायात सञ्चालनमा ल्याइने, तातोपानी नाकालाई जोड्ने मुख्य सडक दशैँअघि नै सञ्चालनको गृहकार्य, मुलुकभर सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न चौबीसै घण्टा उपलब्ध हुनेगरी ‘कन्ट्रोल रुम’ सञ्चालन गर्न ‘फोकल पर्सन’को व्यवस्था आदि । तर जुन दिन मन्त्रालयले नारायणगढ–मुग्लिन सडकको तुइन खोलाको पहिरो हटाई यातायात सञ्चालनमा ल्याइने भनेर निर्णय गरेको थियो, त्यसै दिनदेखि तीन दिन पूरै अवरोधमा प¥यो । यस्ता विपतिहरू मानवीय लापरबाहीले पनि प्रकट भइरहेका छन् । काडमाडौंलाई तराई जोड्ने एउटा ठूलो वैकल्पिक मार्ग बीपी राजमार्ग लेदोले भरिभराउ भएर चल्न छाडेको हो । जथाभावी उत्खनन यसको कारण हो, भन्ने प्रस्टै छ तर त्यो काम अझै रोकिएको छैन । पश्चिमतर्फको दाउन्ने खण्ड निर्धारितभन्दा धेरै नै लामो समयसम्म काम नसकिँदा प्रत्येक वर्ष यही कुरा दोहोरिहने गरेको छ । यी सबै हँुदा पनि चेतिएन । कम्तीमा विकल्पविहीन मार्गका लागि त यस्तो खेलबाड हुन नदिनुपर्ने हो । तर सधैँ यस्तै भइरहेको देखिन्छ । तर्कविहीन रूपले ठेकेदारको म्याद थप्दै जाने परम्परा पनि यी संकटका स्रोत हुनुपर्छ । सरकारले चेतोस् । त्यसो भएन भने सधैँभरि यस्तै निर्देशन दिइरहनुपर्ने र पत्रकारले पनि यही कुरा लेखिरहनुपर्नेछ ।