काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उक्त प्रतिबद्धता जनाएको छ ।
विश्वभरिका गैरआवासीय नेपालीहरु नेपाललाई समृद्ध बनाउन जुनसुकै किसिमकको सहयोगका लागि प्रतिबद्ध रहेको अध्यक्ष डा केसीले बताए । आन्दोलनका क्रममा देशमा भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै पुनःनिर्माणका लागि र मुलुकको कठिन घडीलाई सम्बोधन गर्न संघ सदैव सरकारसँग हातेमालो गर्न तत्पर रहेको उनको भनाइ थियो । उनले भने, ‘मुलुकको जटिल परिस्थितिमा विदेशमा रहेका नेपालीहरुले मातृभूमिलाई आर्थिकरुपमा सबल र समृद्ध बनाउन सक्ने अपार सम्भावना बोकेका छन् । उनीहरुको पुँजी, सीप, अनुभव र ज्ञानलाई संस्थागत ढंगले प्रयोग गर्न सकिने व्यवस्था मिलाउन सके मुलुकको समृद्धिको यात्रा सहज हुनेछ ।’
भेटका प्रधानमन्त्री कार्कीले राष्ट्र पुनःनिर्माणको लागि विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह गरेकी थिइन् । पुनःनिर्माणको लागि नेपाली र गैरआवासीय नेपालीहरुसँग मात्रै सहयोग लिने र अपुग भए मात्रै विदेशबाट सहयोग लिने उनले स्पष्ट पारिन् । मुलुकमा आर्थिक समृद्धिका लागि आ–आफ्नो स्थानबाट सहयोग पु¥याउनुपर्नेमा उनले जोड दिइन् । भेटमा अध्यक्ष डा केसीले संविधान संशोधनमार्फत गैर–आवासीय नेपालीहरुलाई वंशजको नागरिकताको निरन्तरतासहितको नेपाली नागरिकता उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्न र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोजन सहजरूपमा प्रत्याभूत गर्न अनुरोध गरेका थिए । यस्तै, अब हुने निर्वाचनमा विदेशमा रहेका नेपालीहरुका लागि मताधिकार सुनिश्चित गर्न माग गरे ।
प्रधानमन्त्री कार्कीले संघले मताधिकार लगायत अन्य मागलाई सकारात्मक रुपमा लिएको तथा आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरुलाई विदेशबाट नै मतदान गर्ने व्यवस्था मिलाइने जानकारी दिइन् । उक्त अवसरमा महिला उपाध्यक्ष रोजिना प्रधान राई र संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको पनि उपस्थिति रहेको थियो ।