काठमाडौ । नेपाल टेलिकमले हिमालपारिको जिल्ला भनेर चिनिने मनाङ जिल्लाका विकट स्थानहरुमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।
कम्पनीले मनाङको भू–धरातलीय तथा भौगोलिक हिसाबले अत्यन्तै दुर्गम र विकट स्थानहरुमा नयाँ बीटीएस स्थापना गरी मोबाइल सेवाको सञ्चालन तथा कतिपय स्थानहरुमा गुणस्तर अभिवृद्धिको कार्य सम्पन्न गरेको हो । मनाङको माथिल्लो क्षेत्र मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङ, वडा नं.–३ ङावल, वडा नं.–८ टंकी मनाङ र वडा नं.–९ खाङसारमा भी–स्याट प्रविधिबाट दुजी सेवा सञ्चालन हुँदै आएको थियो ।
कम्पनीले उक्त क्षेत्रमा असोज ४ गतेदेखि कम्पनीले फोरजी सेवा सञ्चालनमा ल्याएको हो । उक्त क्षेत्र पर्यटकीय दृष्टिकोणले समेत अत्यन्तै महत्वपूर्ण क्षेत्र रहेको छ । पर्यटकका साथसाथै स्थानीय तथा व्यवसायीहरुको चापका कारण भी–स्याट प्रविधिबाट गुणस्तरीय सेवा प्रवाह गर्न कठिनाइ भएपछि सेवा स्तरोन्नति गरेको कम्पनीले जनाएको छ ।
भौगोलिक विकटताका कारणले रेडियो लिङ्कबाट समेत सेवा सञ्चालन गर्न नसकिएको अवस्थामा बेँसीसहर–खाङसार एडीएसएस लिङ्क सञ्चालन भएपछि उक्त क्षेत्रमा फोरजी मोबाइल सेवा सञ्चालन सम्भव भएको हो । यसका साथै तिलिचो बेस क्याम्प र थोरोङफेदीमा पनि निकट भविष्यमा फोरजी मोबाइल सेवा सञ्चालनका लागि प्रक्रिया अघि बढिसकेको कम्पनीले जनाएको छ । यस्तै, चामे गाउँपालिका–३ स्थित कोटोगाउँमा मोबाइल नेटवर्कको कभरेज रामो नभएको गुनासोलाई सम्बोधन गर्न सेवाको गुणस्तर वृद्धि गरेको छ । स्थानीय बासिन्दा तथा हाइड्रोपावर क्षेत्रमा काम गर्ने सयौँ ग्राहकको मागलाई ध्यानमा राख्दै नयाँ बीटीएस स्थापना गरी यही असोज १ गतेदेखि टुजी र फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याइएको हो ।
यसैगरी, नासोङ गाउँपालिका वडा नं.–१ तालगाउँमा टुजी र थ्रीजी सेवा प्रवाह हुँदै आएकोमा आइतबारदेखि फोरजी सेवा थप गरी सञ्चालनमा ल्याइएको छ । यस स्थानमा थप गरिएको फोरजी सेवाको बीटीएसले लमजुङ जिल्लाको उत्तरी खण्डको च्याम्चे क्षेत्रलाई समेत कभरेज गर्नेछ । मनाङ जिल्लाका धेरै स्थानमा सेवाको स्तरोन्नतिका साथै नयाँ सेवा सञ्चालनमा आएसँगै नार्पाभूमि गाउँपालिकाबाहेकका अन्य सम्पूर्ण पालिकाहरुमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवा पुगेको छ । नार्पाभूमिका नार र फूगाउँ तथा नासोङ गाउँपालिकाको भिम्थाङ कोठी गाउँमा भने भी–स्याट प्रणालीबाट सेवा सञ्चालन भइरहेको कम्पनीले जनाएको छ ।