काठमाडौ । नेपाल पर्यटन बोर्डले बंगलादेशको ढाकामा सम्पन्न १२औँ एसियन पर्यटन मेलामा नेपाल भ्रमणका लागि आग्रह गरेको छ । अन्तर्राष्ट्रिय ढाकास्थित कन्वेन्सन सिटी बसुन्धरामा हालै आयोजित मेलामा नेपाल पर्यटन बोर्डले ‘नेपाल पर्यटक स्वागतका लागि पूर्णमा तयार रहेको’ सन्देश प्रवाह गरेको हो ।
हालैको जेन–जी आन्दोलनका क्रममा नेपालमा उत्पन्न चुनौतीपछि अन्तर्राष्ट्रिय मेलामा नेपालका पर्यटन व्यावसायिक कम्पनीहरूको यो पहिलो ठूलो सहभागिता हो । यसले नेपाल सामान्य अवस्थामा फर्किएको र पर्यटकहरूको सुरक्षित स्वागतका लागि तयार रहेको सन्देश बंगलादेशका पर्यटन व्यवसायी र पर्यटकहरूलाई दिएको छ । नेपालका लागि बंगलादेशस्थित राजदूत घनश्याम भण्डारीले मेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालको पर्यटन उद्योगले विभिन्न चुनौतीबीच पनि छिटो पुनरुत्थान गर्न सक्ने क्षमता रहेको बताए । उनले नेपाल–बंगलादेशबीचको पर्यटन सहकार्य र जनस्तरीय सम्बन्ध अझ मजबुत बनाउनु पहल भइरहेको उल्लेख गरे ।
मेलामा राखिएको नेपाल स्टलमा ठूलो संख्यामा आगन्तुकहरूको उपस्थिति रहेको थियो । स्टलमार्फत सहभागी नेपाली कम्पनीहरूले नयाँ अवसर पहिचान गर्न, पुराना सम्बन्धलाई नवीकरण गर्न र आफ्ना प्याकेज तथा सेवाहरू प्रस्तुत गरेका थिए । कयौँ बंगलादेशी आगन्तुकहरूले हालैको जेन–जी आन्दोलनपछिको नेपालको अवस्थाबारे जिज्ञासा राखेका थिए । उनीहरूले नेपाल छिटो सामान्य अवस्थामा फर्किएको देखेर सन्तुष्टि समेत व्यक्त गरे ।
उनीहरूले बंगलादेशमै विगत वर्षमा भएका राजनीतिक घटनाक्रमसँग तुलना गर्दै नेपाल भ्रमण गर्ने योजनामा कुनै असर नपरेको प्रतिक्रिया दिएका छन् । बंगलादेश नेपालका लागि तीव्ररूपमा बढ्दो पर्यटक बजार बन्दै गएको छ । सन् २०२४ मा नेपालले करिब ४९ हजार बंगलादेशी पर्यटक स्वागत गरेको थियो भने सन् २०२५ को पहिलो आठ महिनामै बंगलादेशी पर्यटक आगमनमा झन्डै ३२ प्रतिशत वृद्धि भएको पर्यटन बोर्डको तथ्याङ्कले देखाएको छ ।
भौगोलिक निकटता, समान जीवनशैली र बंगलादेशको बढ्दो आर्थिक क्षमता नेपालका लागि ‘अवसर’ साबित भएको छ । यस वर्षको मेलामा आठ विभिन्न देशका एक सय ५० संस्था सहभागी भएका थिए । एक सय ८० स्टलमार्फत पर्यटनसम्बन्धी सेवा र प्याकेजहरू प्रस्तुत गरिएको थियो । नेपाल पर्यटन बोर्डसँगै नेपालका हिमालयन क्लब टुर्स एन्ड ट्राभल, नेपाल बिग माउन्टेन ट्राभल कम्पनी, दि ट्रेक नेपाल, गो नेपाल ट्राभल टुर्स एन्ड ट्रेकिङ, स्नोवी होराइजन ट्रेक्स एन्ड एक्सपिडिसन, क्लासिकल एडभेन्चर नेपाल, हिमाल गरी ट्राभल एन्ड टुर्स, फिमेल गाइड काठमाडौं, काठमाडौं स्वीट होम र रेगुलस ट्रेक्स एन्ड एक्सपिडिसन गरी १० कम्पनी सहभागी भएका थिए ।
नेपाल पर्यटन बोर्डका अनुसार बंगलादेशमा भएको यस सहभागिताले नेपाल सुरक्षित र आतिथ्यका लागि उपयुक्त गन्तव्य रहेको स्पष्ट सन्देश प्रवाह गरेको छ, यसले दुवै देशबीचको पर्यटन सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग गर्नेछ ।