काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा चार जना नयाँ मन्त्री थप भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार चार जना मन्त्री नियुक्त गरेका छन् ।नवनियुक्त मन्त्रीहरुको सोमबार नै शपथ भएको छ । उनीहरुले शपथपछि पदभारग्रहण गरेका छन् । अनिलकुमार सिन्हा, महावीर पुन, डा. मदनप्रसाद परियार र जगदीश खरेल मन्त्री भएका हुन् ।
सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, पुनले शिक्षा, विज्ञान तथा प्रविधि, परियारले कृषि तथा पशुपन्छी र खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
कानुन व्यवसायी पृष्ठभूमि रहेका मन्त्री सिन्हा सर्वाेच्च अदालतका पूर्वन्यायाधीश हुन् । दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट सेवा विस्तार गरी विश्वमै ख्याति कमाएका मन्त्री पुन राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख हुन् । मन्त्री परियार कृषि विज्ञ हुन् भने मन्त्री खरेल पत्रकार हुन् ।
यसअघि गत भदौ ३० गते रामेश्वर खनाल अर्थ, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास र ओमप्रकाश अर्याल गृह मन्त्रालयको जिम्मेवारीमा कार्यरत छन् । ‘जेन–जी’ समूहको आन्दोलन र त्यसपछि उत्पन्न विषम परिस्थितिका बीच राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।