काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अन्तरिक सरकारले छोटो समयमा प्रतिफलयुक्त काम गर्नुपर्ने बताएका छन् ।
सिंहदबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि आयोजित कार्यक्रममा उनले छोटो समयमा प्रतिफलयुक्त काम गर्नका लागि सबैसँग सहयोग र सहकार्यको अपेक्षा रहेको बताए । उनले छ महिनामा कायापलट गर्न नसकिने उल्लेख गर्दै केही आशाको जग निर्माण गर्न भने लाग्नुपर्नेमा जोड दिए । त्यसमा मन्त्रालयका सचिवलगायत सबै कर्मचारीको अनुभव तथा अरु विज्ञबाट सहयोगको अपेक्षा गरेको उनको भनाइ छ ।
मन्त्री खरेलले आगामी फागुन २१ गतेको निर्वाचन, भ्रष्टाचार नियन्त्रण र पुनःनिर्माणका काममा सरकार केन्द्रित हुने बताए । वर्तमान सरकार जेन–जीको बलिदानको जगमा उभिएको उल्लेख गर्दै उनले नयाँ पुस्ता एवम् नागरिकको कार्यादेशअनुसार सुशासन कायम, भ्रष्टाचार नियन्त्रणको आधार निर्माण र जनतालाई मौलिक अधिकारको महसुस हुनेगरी काम गर्नुपर्नेमा जोड दिए ।
‘हामीलाई जेनजी र नागरिकबाट धेरै ठूलो कार्यादेश छैन, सरल छन्, तर बहुत जटिल र चुनौतीपूर्ण काम छन्’, उनले भने, ‘भौतिक पुनःनिर्माणले मात्र पुग्दैन । जनताको मनमा घाउ लागेको, त्यसको दाग अझै पनि छ । त्यसलाई पुनःनिर्माण गर्न त्यति सजिलो छैन । त्यसैले दूरदराजका जनताको घरसम्म सरकार र हामी सबै उपस्थिति हुनुपर्छ । त्यो उपस्थितिले सुशासन, आर्थिक समृद्धि, रोजगारी, शिक्षा, स्वास्थ्यलगायत संविधानअन्तर्गतका मौलिक अधिकार कार्यान्वयनको महसुस गर्न पाए मात्र घाउमा मलम लाग्छ ।’ मन्त्री खरेलले मन्त्रालयका कर्मचारीको काममा आफूले कुनै पनि हस्तक्षेप नगर्ने बताउँदै स्वतन्त्ररूपमा प्रभावकारी कार्यसम्पादनका लागि आग्रह गरे । साथै, उनले मन्त्रालयले ‘आर्टिफिसियल इन्टिलिजेन्स’ (एआई) ‘पोलिसी’ र ‘डिजिटल फ्रेमवर्क’मा केन्द्रित भएर काम गर्ने बताए । मन्त्री खरेलले पाँच महिनाभित्र देशका प्रमुख १० वटा सहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय पनि गरेका छन् ।