काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विभिन्न चारवटा सल्लाहकार समिति गठन गर्ने प्रस्ताव स्वीकृत गरेका छन् ।
केशरमहलस्थित मन्त्रालयको कार्यलयमा पदभार ग्रहण गर्दै उनले विज्ञान र प्रविधि क्षेत्रमा मन्त्रालयलाई सुझाव दिन समिति गठन गर्ने प्रस्ताव स्वीकृत गरेका हुन् । उनले समितिका लागि समिति बनाउन नहुने र समितिमा राखिएकाहरूले साँच्चिकै निःस्वार्थ भएर योगदान दिनुपर्नेमा जोड दिए । यसका लागि बजेट पनि आवश्यक हुने उनको भनाइ थियो । मन्त्री पुनले युवापुस्ताको चाहनाबमोजिम नयाँ एवम् सुधारका काममा सुझाव दिन विज्ञ र कर्मचारीलाई आग्रह गरे । ‘म जस्तोसुकै परिस्थितिमा पनि काम गर्न पछि नहट्ने मान्छे हुँ । मन्त्री हुँदैमा ठुलो मान्छे भएको छैन । दैनिक काममा मेरो खास रुचि हुँदैन’, उनले भने, ‘जेन–जी समूहको आन्दोलनको मर्मअनुसार मुलुकमा भ्रष्टाचार र बदमासी हुनु भएन । म जेन–जीहरूको दाइ हुँ । शिक्षा मन्त्रालयमा पनि कुनै बदमासी छ भने रोकिनुपर्छ । ढिलासुस्ती हुनु भएन ।’
उनले आफूले २०८० वैशाख १८ मा गरेको धर्नापछि विकास बजेटको एक प्रतिशत रकम वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनमा विनियोजन गर्न ६० दिनभित्र विधेयकको मस्यौदा तर्जुमा गर्न तत्कालीन सरकारसँग भएको सहमति हालसम्म कार्यान्वयन नभएको पनि स्मरण गराए । सीमित स्वार्थका लागि देशको स्वार्थलाई ओझेल नपार्न आग्रह गर्दै मन्त्री पुनले प्रतिनिधिसभा नरहेको अवस्थामा विद्यालय शिक्षा विधेयक ल्याउन नसकिने स्थितिमा कसरी काम गर्ने भन्ने विकल्प ल्याउन तथा कार्यविधिबाट काम गर्न सकिने अवस्थाबारे जानकारी दिन आग्रह गरे ।