नेपालगन्ज । गत भदौ २३ र २४ गते ‘जेन–जी’ आन्दोलनको क्रममा बाँके जिल्लामा तोडफोड र आगजनीबाट क्षति पुगेका सरकारी तथा सामुदायिक भवनहरूको प्राविधिक अवस्था अध्ययन गरिएको छ ।
नेपाल इन्जिनियरिङ एसोसिएसन, सहरी तथा भवन डिभिजन कार्यालय बाँके र प्रदेश सहरी विकास तथा भवन कार्यालय बाँकेको संयुक्त प्राविधिक टोलीले स्थलगत अनुगमन गरी प्रभावित संरचनाहरूको अवस्था मूल्याङ्कन गरेको हो । टोलीले अधिकांश क्षतिग्रस्त भवनहरूको भौतिक स्थिति निरीक्षण गरी आवश्यक ग्रेडिङ समेत गरिसकेको जनाएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका इन्जिनियर सुरज शर्माले प्राविधिक अध्ययन सम्पन्न भइसकेको जानकारी दिए । अध्ययनका आधारमा मर्मत तथा पुनर्निर्माणका प्रक्रिया अघि बढाइने उनले बताए । टोलीले भवन डिभिजन विभागको गाइडलाइनअनुसार मूल्याङ्कन कार्य सम्पन्न गरेको छ । अध्ययनबाट संकलित तथ्यांकका आधारमा आवश्यक सिफारिससहित प्रतिवेदन सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ ।
इन्जिनियर शर्माका अनुसार, नेपालगञ्जका जिल्ला मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय र राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा गम्भीर क्षति पुगेको छ । ती भवनहरूमा रातो स्टिकर टाँसिएको उनले बताए । ‘यी कार्यालयमा रहेका महत्वपूर्ण कागजातहरूका कारण क्षतिको प्रभाव झन् गहिरो देखिएको छ,’ उनले भने । जिल्ला प्रशासन कार्यालय बाँकेमा पहेँलो स्टिकर टाँसिएको छ । अध्ययनमा सहभागी इन्जिनियर प्रदीप पराजुलीका अनुसार केही कोठाहरू पूर्णरूपमा मर्मतपछि मात्र सञ्चालनमा ल्याउन सकिने अवस्था छ ।
जिल्ला अदालत, उच्च अदालत, कृषि ज्ञान केन्द्र, भन्सार, नापीलगायतका अन्य धेरै कार्यालयहरूको पनि प्रारम्भिक प्राविधिक मूल्याङ्कन सम्पन्न भइसकेको पराजुलीले बताए । उनका अनुसार केही कार्यालयमा हरियो स्टिकर (सञ्चालनयोग्य) टाँसिएको छ । अध्ययनमा नेपाल इन्जिनियरिङ एसोसियसन लुम्बिनी प्रदेशका प्रतिनिधि रुपेश परियार, उपमहानगरपालिकाबाट निमेष शर्मा, सुरज शर्मा, सहरी विकास कार्यालयबाट कृष्ण आचार्य तथा निजी क्षेत्रका इन्जिनियरहरू प्रदीप पराजुली, सुरेन्द्र बोहरा, मोहन ओली, हेमन्त बुढाथोकी र यज्ञ खत्रीलगायतका प्राविधिकहरू संलग्न थिए ।
आन्दोलनका क्रममा व्यापक क्षति
जेन–जी आन्दोलनका क्रममा अराजक समूहले बाँकेका दुई दर्जनभन्दा बढी कार्यालयहरूमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए । सबैभन्दा धेरै क्षति नेपालगञ्ज उप–महानगरपालिका र आन्तरिक राजस्व कार्यालयमा भएको देखिएको छ । जिल्ला अदालत र उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका भवन पूर्णरूपमा ध्वस्त भएका छन् । न्यायसम्बन्धी दर्जनौँ अपिल फाइलहरू समेत जलाइएको छ । भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालय नेपालगञ्जका नागरिक सम्पत्तिसम्बन्धी कागजातहरू पनि नष्ट गरिएको छ ।
यातायात व्यवस्था कार्यालय नेपालगञ्ज, नेपालगञ्ज भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय जयसपुर र ट्राफिक कार्यालय नेपालगञ्जमा समेत आगजनी गरिएको थियो । कृषि ज्ञान केन्द्र, जिल्ला हुलाक कार्यालय, नरैनापुर गाउँपालिकाको मुख्य तथा वडा नम्बर ४ र ६ को कार्यालय, जमुनाहा हेल्थ डेस्कलगायत अन्य संरचनाहरूमा पनि आगजनी गरिएको छ । राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले बाँकेको कार्यालयहरूमा समेत आक्रमण भएको थियो ।
कोहलपुर क्षेत्रमा पनि ठूलो क्षति
कोहलपुरमा पनि आगजनी र तोडफोडबाट धेरै संरचना प्रभावित भएका छन् । कोहलपुर नगर कार्यपालिकाको कार्यालय, राजस्व अनुसन्धान कार्यालय, नगर प्रमुख पूर्णप्रसाद आचार्यको निजी घर, कोहलपुर नगरपालिका वडा नम्बर ८, ९, ११, १२ का कार्यालयहरू, इलाका प्रशासन कार्यालय कोहलपुर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, रोजगार शाखा, युवा सञ्जाल, मालपोत र नापी कार्यालय, यातायात व्यवस्था कार्यालय डेस्क र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रमा पनि गम्भीर क्षति पुगेको छ । नेपालगञ्जस्थित पुष्पलाल चोक, गणेशमान चोक, बीपी चोक र सेतु विक चोकमा समेत आक्रमण गरी संरचनात्मक क्षति पुर्याइएको थियो ।