काठमाडौं । घोराही सिमेन्ट उद्योग लिमिटेडले घोराही मालपोत कार्यालयमा सरसफाइ तथा रङरोगन कार्य गरेको छ । कम्पनीले ‘हाम्रो समुदाय, हाम्रो जिम्मेवारी’ भन्ने मूल भावना अघि सार्दै सो कार्य गरेको हो ।
उद्योगले आवश्यक सामग्री र श्रमिक आफ्नै पहलमा व्यवस्थापन गरी कार्यालयलाई व्यवस्थित र स्वागतयोग्य स्वरूपमा पुनः प्रस्तुत गरेको जनाएको छ । हालै घोराही नगरपालिकामा भएका अशान्तिपूर्ण घटनाका कारण प्रभावित भएको सरकारी कार्यालयलाई आकर्षक र कार्यसुगम बनाउन गरिएको यस प्रयासले कार्यालयको वातावरण सुधार गर्नुका साथै सेवाग्राहीलाई सहज हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
घोराही सिमेन्ट उद्योगले यसलाई केवल सरसफाइ वा रङरोगन मात्र नभई समुदायमा आशा, आत्मबल र एकताको भावना जगाउने साझा पहलका रूपमा लिएको छ । यससँगै उद्योगले यस्ता सामाजिक उत्तरदायित्वका गतिविधिलाई निरन्तरता दिँदै उज्ज्वल र मजबुत भोलिको निर्माणमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।