चितवन — मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुल नजिक सोमबार साँझ फेरि ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।भरतपुर सडक डिभिजनका अनुसार साँझ करिब ५ बजे खसेको पहिरो पन्छाउन कठिनाइ भएको छ। माथिबाट निरन्तर सुक्खा पहिरो खसिरहेकाले काम गर्न समस्या भएको र सडक कहिले खुल्ने भन्ने टुंगो नलागेको कार्यालयले जनाएको छ। यसअघि दिउँसो १ बजेदेखि दुवैतर्फ बन्द भएको सडक केहीबेर सञ्चालनमा आएको थियो। तर, पुनः पहिरो खसेसँगै आवागमन रोकिएको हो। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। गत शुक्रबार साँझ खसेको ठूलो पहिरोका कारण पनि यो खण्डमा झन्डै ४५ घण्टासम्म सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो। त्यसपछि सडक एकतर्फी सञ्चालनमा आएको भए पनि निरन्तर पहिरो खसिरहेकाले सहज यातायात सम्भव हुन सकेको छैन। दशैं मनाउन घरतर्फ हिँडेका यात्रुहरू बाटैमा अलपत्र परेका छन्। निरन्तर पहिरोका कारण सडक प्रयोगकर्ताहरूले असुविधा भोग्नुपरेको छ।