काठमाडौं । जेन–जीका आन्दोलनमा कतै पनि र अलिकति पनि भौतिक क्षति नपुगेका ठूलामध्येका दुईवटा दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी देखिए । यी दुई दल संसद्का चौथो र पाँचौँ शक्ति हुन् ।योभन्दा सानो दल एकीकृत समाजवादीको भने नेता र दल दुवैका भवन जलाइएका छन् । नेपाली कांग्रेस, एमाले, माओवादीका त कतिव्यक्ति र कति पार्टीका घर जले भन्ने हिसाबकिताब नै हुन सकेको छैन । यसमा कसका जले भन्नेभन्दा पनि कसका जोगिए भन्ने खोज्नुपर्ने हुन्छ । यिनका नोक्सानीका विवरण भने आउन बाँकी छ । तर जेन–जी आन्दोलनपछि पुराना राजनीतिक दलहरूलाई आफ्नो भत्केका घर र कार्यालय कसरी पुनःस्थापना गर्ने भन्ने चिन्ता चिन्ता छ भने पछिल्लो आमनिर्वाचनबाट खडा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने यसबाट पूरै जोगियो । रास्वपाका व्यक्ति वा पार्टीका एउटा समेत घर जले भन्ने एउटा पनि उदाहरण छैन ।यसका नजले पनि पार्टी भने जलेको देखियो । त्यस्तो जलनबाट क्षतिभने कति भयो हिसाब भइसकेको छैन । तर जलनका दृश्य भने प्रकट भइरहेका छन् । रास्वपा त्यस्तो दल हो जसले जेन–जी आन्दोलनबाट सबैभन्दा बढी लाभग्राही हुन खोज्यो । उसले गरेको कामले नै के देखायो भने जेन–जीको यो आन्दोलन नै उसका लागि हो वा थियो । त्यो लाभ कतिसम्म उपभोग गर्न खोज्यो भने आन्दोलनकारीले भन्दा धेरै बढी थियो ।यता आन्दोलनकारीले ज्यानै गुमाए भने यो दलले सडकमा नउत्रिइकनै यस्तो लाभ लिन खोजेको देखिन्छ । अरुका घर जलाइन थाल्दाको पहिल्यै दिन रास्वपाले त्यस्तो लाभ पाएको थियो वा लिएको थियो । तर, त्यसको उपभोगबाट बढी स्वाद लिन खोज्दा अरुका घर जलाइरहँदाभन्दा यो दलको पार्टी आफैँ नै जलनमा पर्न गएको अवस्था छ । जलन पनि यस्तो कि अब यो दल नै रहने हो कि होइन भन्ने सहरभर चर्चा हुन थालेको छ । गाउँमा त पहिले नै यो दलको परिचय समेत थिएन ।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते यो पार्टीका सभापति रवि लामिछाने जुन प्रकारले जेलबाट बाहिर आए त्यो घटना यो दलको जलनको कारण बन्दैछ । उता जेन–जीहरु आन्दोलनमा होमिइरहँदा यता रास्वपाका सभापतिले मौकाको जसरी फाइदा लिन खोजे त्यो आफैँमा पार्टीमा आगो लाग्ने कारण भयो । नाम चलेका दुईजना केन्द्रीय सदस्यले त यो दल छाडिसकेका छन् । रवि जुन प्रकारले जेलबाट बाहिर आए त्यो प्रक्रिया नै सामान्य थिएन । नक्कली कागज बनाएर उनी जेला बाहिर निस्किएका थिए, जसले देशव्यापीरुपमा जेल खाली हुने अवस्था आयो । उनी यसरी निस्किएपछि उनी बसेको नख्खु जेल आधा घण्टामै खाली भयो । त्यसमा ज्यान मुद्दाका जन्मकैदवालादेखि सुन तस्करीवालासमेत रविकै अनुशरण गरेर छुटे ।रविको सिको गरेर छुटेका बन्दीमध्ये अझै १२ हजारको संख्या बाहिरै छ, जसले देशैभरीको समाज भयग्रस्त छ । यसको कारण रास्वपाका सभापति रवि लामिछाने नै हुन् भन्ने आम बुझाइलाई यो दलले खण्डित गर्न सकेको छैन । त्यो भय कतिसम्म व्याप्त भयो भने भदौ २४ को देशव्यापी आगजनीको दोष यो दलमाथि लाग्न थाल्यो । २४ गतेको आगजनी र तोडफोडका घटनामा रास्वपाका नेता, कार्यकर्ताहरू नेताहरूको घर, सवारीसाधन तोडफोडमा उत्रिएको, हिंसा भड्काउन सामाजिक सञ्जालमा लेखेको भन्दै आलोचित भइरहे । यो आरोप यति सारो बढ्यो, सापटीले त्यसको खण्डन नै गर्नुप¥यो । पार्टीका नेताको नाम लिएर सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म आलोचना भएपछि यसका प्रवक्ता मनीष झाले भदौ ३१ मा विज्ञप्ति नै निकाले । त्यसमा भनिएको छ – ‘जेन–जी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरूलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी पार्टीमा आएकाले यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, । यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ ।’ रास्वपामा प्रकट भइरहेका यस्ता परिदृश्यका बारेमा एकजना राजनीतिक विश्लेषक मुमाराम खनालले गम्भीर टिप्पणी गरेका छन् । उनका अनुसार रवि जेलबाट बलपूर्वक भागेको प्रकरणबारे रास्वपाले जस्तो अराजनीतिक भाष्य बनाइरहेको छ, त्यो आफैँ पनि कतै पत्यारलाग्दो भएको छैन । उनले भनेका छन्–‘रास्वपाका नेता मनीष झाको एउटा भिडियो ‘क्लिप’ देखेपछि उदेक लाग्यो । उनले रवि लामिछानेलाई जेलबाट ननिकालेको भए हामीले आज रिप लेख्नुपथ्र्यो भन्नेसम्मको भ्रम, निर्लज्जता र अरानीतिक कुरा गरे । जबकि, कानुनबमोजिम जेलमा बस्नेहरू होइन, कानुन तोडेर जेलबाट भाग्नेहरूमध्ये ११ जना मारिए । अनि कसरी भाग्ने रवि सुरक्षित भए ? अनि यस्ता नेताले नयाँको प्रतिनिधित्व गर्छन् ? सस्तो बयानबाजीबाट राजनीति गर्ने पुरानो दलभन्दा पनि बढी कुण्ठा बोकेका रास्वपाका साथीहरूले बुझ्नुप¥यो– ‘जेन–जी’ पुस्ता आएपछि तपाईंहरूको औचित्य समाप्त भयो । अब तपाईंहरू पनि पुरानो हुनुभयो । नयाँ राजनीति गर्ने हो भने राजनीतिको नयाँ ध्रुुवीकरणमा समावेश हुनुस् ।’ जेन–जीको यो आन्दोलनको प्रमुख माग नै भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना थियो । तर रविले त्यसैलाई आधार बनाएर सहकारी ठगीमा जेल परेको अवस्थाबाट मुक्तिलिने मौका बनाए । जबकि, उनी कसुरदार हुन भन्ने जिल्ला पाँचवटा जिल्ला एउटा उच्च र सर्वोच्च अदालतबाट आदेश भएको थियो  ।त्यसलाई बिर्सिएर जेन–जी आन्दोलनको हुलमूलमा रविलाई छुटाउन अभियान नै चलाइयो । त्यसका लागि नख्खु कारागार पुग्न उर्दी नै जारी भयो र कार्यवाहक सभापतिसहितको केन्द्रीय समितिकै तर्फबाट कारागार प्रशासनको नक्कलीपत्र बनाएर राजबन्दीको संज्ञा दिँदै छुटाइयो । तर यता आन्दोलनकारीले यो कुरा मानेनन् । ‘ब्याक टु जेल’ भनेर सन्देश नै पठाए । यसै क्रममा हो देशभरबाट हजारौँ कैदी फरार भएका । फरार हुने क्रममा त्यसै दिन प्रहरीले चलाएको गोलीबाट १२ जना कैदीको त ज्यानै गयो । यसपछि नै नेताका घरमा छानीछानी आगो लगाउने, रविमाथि मुद्दा परेका अदालतलाई खरानी बनाउने काम भए । मुद्दामा सफाइ पाएको भन्दै बाहिर आएपछि ‘टाइगर इज ब्याक’ भन्दै जुलुससहित कारागारबाट खुसीयाली मनाइएको घटना पनि धेरैका मनमा गड्न गयो ।रवि यसरी जेलमुक्त भएको घटना अरुका लागि त के रास्वपा धेरै सदस्यले नै पचाउन सकेनन् । यो कुरा भर्चुअल बैठकमा प्रकट भयो । केन्द्रीय सदस्यहरु सुमना श्रेष्ठ, मनीष झा, तोसिमा कार्की, गणेश कार्की, निशा डाँगी आदिले विरोध जनाए । रविले सक्कली भनेर दाबी गरेको पत्रको व्यहोरा नै नक्कली रहेको भन्दै कार्कीसहितका नेताले आपत्ति जनाए । प्रवक्ता झाले नै लामिछानेलाई छुटाउन भीड जम्मा गरेको, सन रुफ भएको गाडीमा पर्खिएको भनेर मुखै फोरे । अन्ततः यसरी आफ्नै दलभित्र पनि चौतर्फी विरोध भएका कारण यसको चार दिनपछि ‘न्यायकी प्रतिमूर्ति प्रधानमन्त्री बन्नुभएको छ । अब ममाथि अन्याय हुँदैन भन्ने आशा लिएर म कारागार जाँदैछु’ भन्दै रवि फेरि नख्खु कारागार नै फर्किँए । यतिबेलासम्म रविले यसअघिका आफ्ना सबै भनाइलाई तिलाञ्जली दिइसकेका थिए । जस्तो उनले आफूमाथि लागेको मुद्दालाई कांग्रेस र एमालेले प्रतिशोध साँधेको भनिरहेका थिए, यी दुई दलको सरकार आन्दोलनको बलमा ढल्यो र अर्को सरकार बन्यो । तर यता राजबन्दी भनेर छुटेका उनी फेरि कारागार फर्किनुपरेको अवस्था बन्यो । यो रास्वपाका लागि सामान्य कुरा नहुन सक्छ । यतिबेला यसका चारजना केन्द्रीय सदस्यहरुले यो दल छाडिसकेको बताइएको छ । उनीहरु कुनै नयाँ दल खुलेमा त्यता जाने तरखरमा रहेको बुझिन्छ । रविले जेलबाट निस्किँदा जस्तो फर्जी काम गरे त्यसको वास्तविकता सहीरुपले छानबिनमा आयो भने उनका कर्तुतहरु सबै खुल्ने छन् । एकजना केन्द्रीय सदस्य गणेश कार्कीले त आन्दोलनमा पार्टीले चलखेल गर्न नहुने र त्यसको परिणाम आफ्नो पक्षमा पार्न नहुने भनेर बताए नै । उनका अनुसार रविले यो बेला देखाएका रमिता केहीअघि जेलबाट निस्किँदा व्यक्ति हत्यामा जन्मकै भोगिरहेका रिगल ढकाल (योगराज) निस्किएजस्तो गरी विजय जुलुससहित निस्किएको बराबर भयो जसलाई समाजले सहन सक्तैन ।केन्द्रीय सदस्य कार्कीले भनेका छन् ‘सुरक्षाको कारण थियो भने सुरक्षित भएर गोप्य ढंगले निस्कनुपथ्र्यो । डनको झल्को दिने गरेर निस्किन पर्दैन थियो । सुरक्षाका कारण जेलबाट निस्किनुपर्ने अवस्था भनेको विजय जुलुस गरेर निस्किनुपर्ने होइन । नख्खु जेलबाट विजय जुलुस जसरी निकाल्नेहरूले त्यसपछि आएका प्रतिक्रियाको जिम्मेवारी लिनुपर्छ । त्यसको जिम्मेवारी म लिन सक्दिनँ । रास्वपाले पनि त्यसको जिम्मेवारी लिन पाउँदैन । सभापतिको निर्दोषिता कानुनी प्रक्रियाले प्रमाणित गर्ने हो । आफ्नालाई जोगाउन कानुन मिच्न, चलखेल गर्न थालियो भने हामीले कानुन र विधिको कुरा नगरे हुन्छ ।’पूर्वसहमहामन्त्री एवम् केन्द्रीय सदस्य सुमना श्रेष्ठले भदौ २८ गते रास्वपा त्यागेको घोषणा गर्दै भनेकी कुरा पनि यादवका सदस्यका लागि पछिसम्म नै माननीय हुनुपर्छ । उनले भनेकी छन् –‘कहिल्यै गल्ती नस्वीकार्ने, गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने, पार्टीभित्र आलोचना गर्नेहरूविरूद्धमा मिडिया ट्रायल गर्ने ! जहिलेदेखि रास्वपाले देशभन्दामाथि पार्टी र पार्टीभन्दामाथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएकी हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो, यो स्वीकार्य छैन । अब खुलारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । आई क्विट, मैले पार्टी छोडेँ ।’