काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहले देशका महत्वपूर्ण भवनहरुमा आगजनी र तोडफोड ग¥यो । त्यसमा छ सय २९ वटा घरहरु जलेर खरानी भए भने एक हजार पाँच सय ६० भन्दा बढी भवनमा आंशिक क्षति भएको बताइएको छ । तीमध्ये ९७ वटा व्यापारिक तथा निजी भवन पूर्णरुपमा क्षति भएको र दुई सय ९२ वटा त्यस्ता भवनमा आंशिक क्षति भएको छ ।
त्यसरी तोडफोड र आगजनी भएका व्यापारिक भवनहरुमध्ये पहिलो नम्बरमै व्यवसायी मिनबहादुर गुरुङले सञ्चालन गरेको भाटभटेनी सुपरमार्केट पर्दछ । देशभरका २८ वटा भाटभटेनी सुपरमार्केटमध्ये २१ वटामा आगजनी, तोडफोड र लुटपाट भएका छन् । यसबाट १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार आठ सय ५४ रुपैयाँको क्षति भएको गुरुङले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको विवरणमा उल्लेख छ । मुख्य स्टोरसहित १२ वटामा पूर्ण क्षति र नौ वटामा आंशिक क्षति पुगेको विवरणमा उल्लेख छ ।
कहिले प्रचण्डको लगानीको भनेर प्रचार गरिएको त कहिले केपी ओलीको संरक्षकत्व प्राप्त गरेको भनिएको स्वदेशी व्यवसायी गुरुङ कर्मयोगी नेपाली व्यवसायी मानिन्छन् । उनको व्यवसाय लगभग खरानी हुँदा शंकास्पद व्यापारीहरुमाथि भने शंकाको सुविधा मिलेको छ । किनभने गुरुङकै निकटतम व्यावसायिक प्रतिद्वन्द्वी मानिएको विशाल गु्रपको विवादास्पद भारतीय लगानीको बिगमार्टमा चाहिँ काहीँकतै एउटा ढुंगा पनि हानिएन, बिगमार्टमा आगजनी हुने कुरो त निकै परको कुरा भयो ।
मिनबहादुरकै कुनै न कुनै कारोबारमा साझेदारी गरेका विवादास्पद पात्रहरु उमेश श्रेष्ठ, कालु गुरुङ, शोभाकान्त ढकाललगायतको शंकास्पद लगानीका संरचनामा पनि प्रदर्शनकारीहरुबाट खासै क्षति भएको छैन । यसको पछाडिको रहस्य के होलाभन्दा केही विज्ञहरुले भाटभटेनीले चिनियाँ सामानको मार्केट स्थापित गरेको भन्ने आरोप लागेकाले आगजनी भएको बताएका छन् भने केहीले चाहिँ व्यावसायिक दाउपेचको कारण बताएका छन् । धेरैजसो व्यक्तिहरुले चाहिँ बिगमार्टमा केही पनि नहुनुनै त्यसको सटिक उत्तर ठानेका छन् ।