काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र राजनीतिक, सांगठनिक र वैचारिक पुनर्गठनको आवाज उठ्न थालेको छ। मंगलबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा अर्ली महाधिवेशन वा विस्तारित बैठक बोलाउनुपर्ने प्रस्ताव नेताहरूले अघि सारेका हुन्। बैठकमा नेता सन्तोष परियार, पुकार बम, गणेश कार्कीलगायतले पार्टी रूपान्तरण अपरिहार्य भएको भन्दै महाधिवेशनलाई अगाडि सार्नुपर्ने वा विस्तारित बैठक गर्ने विकल्प प्रस्तुत गरेका छन्। स्रोतका अनुसार नेता परियारले मङ्सिरमै अर्ली महाधिवेशन गर्ने वा महाधिवेशन नगर्ने भए विस्तारित बैठक गर्ने दुई विकल्प राखेका छन्। परियारले भने, “विस्तारित बैठकले पार्टीको सचिवालयदेखि केन्द्रीय समितिसम्म जिम्मेवारीमा भएका साथीहरूको कार्यविभाजन पुनः व्यवस्थित गर्न सक्छ। यसले फागुनमा हुने सम्भावित निर्वाचनका लागि पनि तयारी गर्न सहज हुन्छ।” यसअघि रास्वपाले २०८२ फागुन ७, ८ र ९ गते पहिलो महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर, नेताहरूको प्रस्तावले पार्टीभित्र महाधिवेशनलाई मङ्सिरमै ल्याउने वा वैकल्पिक रूपमा विस्तारित बैठक गर्ने विषयलाई प्रमुख एजेन्डा बनाएको छ। बैठकमा केन्द्रीय सदस्यहरूले हालको नागरिक सरकार, भदौ २३ र २४ को आन्दोलन, जेनजी आन्दोलनका मागलगायत घटनाक्रमले देश नयाँ दिशामा अगाडि बढेको भन्दै रास्वपाले पनि सोहीअनुसार रणनीति बनाउनुपर्ने धारणा राखेका छन्। बैठकमा बाँकी सदस्यहरूले धारणा राखेपछि आज नै बैठक सकिने प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।