काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी विघटन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिँदै भने, “पार्टीभित्र एकता कायम गर्न र वर्तमान अवस्थाका आधारमा केन्द्रीय कमिटी भंग गरेर विशेष महाधिवेशनतर्फ अघि बढ्ने निर्णय गरिएको हो।” बैठकले अध्यक्ष प्रचण्डले नै विशेष महाधिवेशन आयोजक समितिको संयोजन गर्ने र महाधिवेशनको मिति तोक्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ।सापकोटाका अनुसार अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नेछन् भने प्रदेशअनुसार प्रतिनिधि विभाजन गरी केन्द्रीय समितिको पूर्ण बैठकमा प्रतिवेदन पेश गरिनेछ। यस्तै, बैठकले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई ध्यानाकर्षण गराउने, जेनजीलगायत परिवर्तनकारी शक्तिसँग संवाद–सम्झदारी कायम गर्ने, समाजवादी मोर्चा तथा विचार मिल्ने राजनीतिक शक्तिसँग कार्यगत एकताको पहल गर्ने निर्णय पनि गरेको छ।