काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासको अपहरणमा परेका विपिन जोशीको रिहाइको पहलका लागि आमा र बहिनी अमेरिका प्रस्थान गरेका छन् ।
विगत २४ महिनादेखि बेपत्ता रहेका कञ्चनपुरका जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी बुधबार अमेरिका प्रस्थान गरेका हुन् । यसअघि उनीहरू इजरायल पुगेर सम्बन्धित निकायहरूसँग प्रत्यक्ष भेटघाट गरिसकेका थिए । तर ठोस प्रगति नदेखिएकाले थप पहलका लागि संयुक्त राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्ने उद्देश्यले अमेरिका गएका हुन् ।
आमा–छोरीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका पदाधिकारीहरूसँग भेटगरी छिटोभन्दा छिटो विपिनलाई सकुशल उद्धार गर्न दबाब सिर्जना गरिदिन आग्रह गर्ने जनाइएको छ । जोशी सन् २०२३ मा कृषि तालिमका लागि इजरायलको किब्बुज आलुमिम पुगेका थिए । उनी २०८० असोजमा इजरायल–हमास युद्धका क्रममा अपहरणमा परेका थिए । हालसम्म उनको अवस्था अज्ञात रहेको छ । नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको भए पनि अहिलेसम्म ठोस नतिजा आउन सकेको छैन । परिवार निरन्तर अपिल र पहलमा सक्रिय छ ।
साथै, अन्तर्राष्ट्रिय सहयोगका लागि सार्वजनिक अपिल जारी राखेको छ । जोशी परिवारले गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीलाई भेटी विश्वव्यापी पहल गर्न आग्रह गरेका थिए । त्यसपश्चात् संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले अमेरिका बसाइँका लागि आवश्यक सहजीकरणको प्रक्रिया अघि बढाएको संघले जनाएको छ ।
उनीहरुको अमेरिका बसाइँमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद् अमेरिकाले प्रत्यक्ष सहजीकरण गर्नेछ । क्षेत्रीय संयोजक वेद बस्नेत, एनसीसी अमेरिकाका अध्यक्ष विकास उप्रेती, आईसीसी सदस्य विष्णु रानामगर, महेश खड्कालगायतको सक्रियतामा उनीहरुलाई सहयोग पुर्याउन र आवश्यक कार्यक्रम सञ्चालन गर्न तयारी गरिएको छ । यसअघि गैरआवासीय नेपाली संघ इजरायलले पनि त्यहाँ विशेष कार्यक्रम आयोजना गरी जोशी परिवारप्रति समर्थन जनाउँदै विपिनको रिहाइका लागि ऐक्यबद्धता व्यक्त गरेको थियो । यस्तै, मध्यपूर्वका विभिन्न राष्ट्रहरूमा समेत कूटनीतिक पहल तथा छलफलका लागि गैरआवासीय नेपाली संघले सहजीकरण गर्नेछ ।