काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिचेको छ । बुधबार मौद्रिक उपकरण बिक्री गरेर राष्ट्र बैंकले उक्त परिमाणमा रकम खिचेको हो । सो दिन अपराह्न तीन बजेसम्म बोलकवोलको माध्यमद्वारा उक्त परिमाणमा रकम तानेको राष्ट्र बैंकको भनाइ छ । परिपक्व हुने अवधि चार दिन तोकिएको उपकरणको सावाँ ब्याज भुक्तानी मिति असोज १२ गते तोकिएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको लागि यो उपकरण बिक्री भएको हो ।
खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्नसक्ने सीमा तोकिएको थियो । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरूमा धितोको रुपमा समेत राख्ने सकिने जानकारी राष्ट्र बैंकले जनाएको छ ।