वीरगञ्ज । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट सात अर्ब १६ लाख रुपैयाँ मूल्यबराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आवमा उक्त नाकाबाट एक अर्ब ७५ करोड रुपैयाँ बढी मूल्यका सवारीसाधन र त्यसमा प्रयोग हुने पार्टपुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आवको उक्त अवधिमा पाँच अर्ब २५ करोड रुपैयाँका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका थिए । कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालू आवको दुई महिनामा यो नाका हुँदै सवारीसाधनको आयात उत्साहजनक भएको बताए । ‘गत आवको दुई महिनाको तुलनामा चालू आवको सोही अवधिमा सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्वमा समेत वृद्धि भएको छ’, उनले भने ।
गत आवको दुई महिनामा सवारीसाधनको आयातबाट चार अर्ब ४७ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो भने चालू आवको दुई महिनामा सवारीसाधनको आयातबाट छ अर्ब १३ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । चालू आवको दुई महिनामा ४३ करोड ५२ लाख रुपैयाँ मूल्यका एक सय ७८ वटा जीप, कार र भ्यान आयात भएका छन् । जबकि गत आवको सोही अवधिमा ५१ करोड ६२ लाख रुपैयाँ मूल्यका दुई सय ९५ वटा जीप, कार र भ्यान आयात भएको थियो । चालू आवको दुई महिनामा दुई अर्ब ७९ करोड रुपैयाँका २० हजार छ सय २० थान अनएसेम्बल्ड मोटरसाइकल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा एक अर्ब ८५ करोड रुपैयाँ मूल्यका १४ हजार सात सय ६६ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएको छ ।