अमेरिका । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले खेलकुदको विश्व प्रशासकीय निकायमा युएसए क्रिकेटको सदस्यता तत्काल प्रभावबाट निलम्बन गरेको छ । तर अमेरिकी टोलीहरूले अझै पनि सन् २०२८ लस एन्जलस ओलम्पिकमा सहभागिताको दौड जारी राख्नेछन् ।
आईसीसी बोर्डले ‘विधानअन्तर्गत सदस्यका रूपमा दायित्व बारम्बार उल्लंघन गरेको’ भन्दै निलम्बनको निर्णय लिएको हो । मंगलबार राति जारी विज्ञप्तामा भनिएको छ, ‘यसमा समावेश छ, तर सीमित छैन, कार्यात्मक शासन संरचना लागू गर्न असफलता तथा संयुक्त राज्य अमेरिका ओलम्पिक र प्यारालिम्पिक समिति (यूएसओपिसी) सँग राष्ट्रिय परिचालक निकायको स्थिति पाउन प्रगति नदेखिनु ।’
आईसीसीले अमेरिकी क्रिकेट र विश्वभर खेलको प्रतिष्ठामा आघात पु¥याउने कार्यहरूलाई पनि आधार मानेको छ, तर विस्तृत विवरण भने दिएको छैन । यसबीच, अमेरिकी पुरुष टोलीले अर्को वर्ष फेब्रुअरीमा हुने टी–२० विश्वकपमा खेल्नेछ । रासस/एएफपी